Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विद्युत् आपूर्तिमा समस्या: सुख्खायाम, भारतको कटौती र व्यवस्थापनमा कमजोरी ?



काठमाडौं । सुख्खा मौसम सुरु भएसँगै देशभर विद्युत् आपूर्तिमा समस्या देखिन थालेको छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा बारम्बार बत्ती जाने गरेको छ भने साँझको समयमा औद्योगिक क्षेत्रहरू विद्युत् नपाएर प्रभावित भएका छन्।

पछिल्लो केही दिनयता विशेष गरी साँझको समयमा भारतबाट विद्युत् आपूर्ति बन्द हुँदा समस्या चुलिएको छ। नेपाल विद्युत् प्राधिकरणले भारतबाट पीईसीमार्फत दैनिक ३५० मेगावाट विद्युत् आयात गर्ने अनुमति पाएको भए पनि हाल जम्मा ५० मेगावाट मात्र आयात भइरहेको जनाएको छ।

विद्युत् प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारका अनुसार, ‘भारतबाट विद्युत् नआएको बेला माथिल्लो तामाकोशीबाट उत्पादन भएको विद्युत् प्रयोग गरेर माग पुरा गर्ने प्रयास भइरहेको छ।’ उनका अनुसार हिमाली भागमा हिउँ पग्लिएपछि केही राहत हुने अपेक्षा गरिएको छ।

साथै, पछिल्लो समय ढल्केबर र थानकोटका सबस्टेसनमा भएको आगलागी, विभिन्न ठाउँमा रुख ढलेर लाइन अवरुद्ध हुने, अन्डरग्राउन्ड लाइन परीक्षणलगायत कारणले पनि विद्युत् आपूर्तिमा अवरोध आएको प्राधिकरणले जनाएको छ।

‘चैत १५ यता हावाहुरी र पानीका कारण समस्या देखिएको हो’, प्रवक्ता शिल्पकारले भने, ‘हामीले सबै वितरण केन्द्रलाई तत्काल समस्या समाधान गर्न निर्देशन दिइसकेका छौं।’

तर आम उपभोक्तामा भने असन्तोष बढ्दो छ। तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा लोडसेडिङ अन्त्य भएको र छिटो सेवा पुनःस्थापना हुने गरेको स्मरण गर्दै अहिले फेरि लोडसेडिङ फर्कने हो कि भन्ने चिन्ता छ।

हाल देशभित्र जलाशय, सौर्य र अन्य स्रोतबाट औसत १,१७५ मेगावाट उत्पादन भइरहेको छ। तर पिक लोड ९उच्च मागको समय० मा २,०७७ मेगावाट माग हुने भएकाले आपूर्ति अपुग भएको प्राधिकरणको भनाइ छ।

हालको अवस्थाबाट औद्योगिक क्षेत्र मात्र होइन, सर्वसाधारण पनि प्रभावित भएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार