काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ बजेबाट सुरु हुँदैछ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरेका हुन्।
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट पठाइएको अधिवेशन आह्वान तथा मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्रबारे सभामुख देवराज घिमिरेले जानकारी गराउने छन्। साथै, बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन र विभिन्न दलका नेताहरुलाई मन्तव्य दिन समय दिइनेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई सम्बोधन गर्ने छन् भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ प्रस्तुत गर्नेछन्।
हिउँदे अधिवेशन चैत १८ गते सम्पन्न भएपछि सुरु भएको यो अधिवेशनलाई बजेट अधिवेशनको रूपमा लिइएको छ। वैशाख १९ गते राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ र वैशाख २८ देखि प्रि-बजेट छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ।
संविधानअनुसार जेठ १५ गते अर्थमन्त्रीले नयाँ आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्नेछन्। यस अधिवेशनमा संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्ने तयारी गरिएको छ।