विराटनगर । विराटनगर महानगरपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहतालाई स्थानीय जनप्रतिनिधिहरूले हाजिर नगराउने अडान लिएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार ४७ जना सहसचिवको सरुवा गर्दा शिक्षा सेवाका कर्मचारी मेहतालाई विराटनगर पठाएको थियो। मेहता यसअघि इटहरी उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत थिए भने त्यसअघि भोक्राह गाउँपालिकामा समेत कार्यरत रहिसकेका छन्।
विराटनगरका मेयर नागेश कोइरालाले सरुवा प्रक्रिया आफूहरूसँग कुनै सल्लाह विना गरिएको भन्दै असन्तुष्टि जनाए। “मेयर र जनप्रतिनिधिसँग एक बचन पनि नसोधी पठाइएको प्रमुख प्रशासकीय अधिकृतलाई हामीले कसरी स्वीकार्न सक्छौँ?” उनले नेपाल प्रेससँग भने।
उनका अनुसार मेहताको कार्यशैली विवादास्पद रहेको र स्थानीय सरकारको काम गर्न सहज नहुने भन्दै महानगरले उनलाई हाजिर हुन नदिने निर्णय गरेको हो। “हामी काम गर्ने जनप्रतिनिधिलाई सहज खालको प्रमुख प्रशासकीय आवश्यक हो, सेटिङमा प्रमुख प्रशासकीय अधिकृत आउँदा हामी चुप लागेर बस्दैनौँ,” कोइरालाले थपे।
उपमेयर शिल्पा निराला कार्कीले समेत मेहतालाई अस्वीकार गर्ने अडान दोहोर्याइन्। “हिजो इटहरीमा त्यत्रो विवाद सिर्जना गर्ने मुख्य भूमिकामा रहेका व्यक्तिलाई हामीले कसरी स्वीकार गर्न सक्छौँ?” उनले भनिन्, “हामीले अरूलाई पठाए पनि त्यो व्यक्तिलाई नपठाउन मन्त्रालयमा भनेका थियौँ।”