विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङमाथि सामुदायिक वन क्षेत्रमा अनुमति विना रुख काटेको आरोपमा डिभिजन वन कार्यालय सुनसरीले छानबिन सुरु गरेको छ।
फायर लाइन बनाउने भन्दै धरान–२० स्थित बिष्णुपादुका सामुदायिक वन क्षेत्रमा मेयर साम्पाङले मेसिनको प्रयोग गरी रुख कटानी गरेपछि सो घटना विवादमा आएको हो। उक्त कार्यप्रति स्थानीयले आपत्ति जनाउँदै उजुरी दिएपछि डिभिजन वन कार्यालयले छानबिन प्रक्रिया अघि बढाएको हो।
डिभिजन वन कार्यालयका अनुसार चैत्र १९ गतेको दिन रुख काटिएको उजुरी दर्ता भएपछि तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिको संयोजकको जिम्मेवारी बिष्णुपादुका सब(डिभिजन वन अधिकृत महेश कुमार शाहलाई दिइएको छ भने सदस्यमा पञ्चकन्या सब(डिभिजनका अधिकृत लेखनाथ भण्डारी र सहायक वन अधिकृत फुलकुमारी भोटे रहेका छन्।
डिभिजन वन कार्यालय सुनसरीका प्रमुख खुद्रोस मियाँले समितिलाई यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको जानकारी दिए। उनले सामुदायिक वनको स्रोतको संरक्षणमा लापरबाही वा अवैध गतिविधि भएको प्रमाणित भएमा कानुनी कारबाही अघि बढाइने स्पष्ट पारे।