विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकार सबै मौलिक संस्कृतिक चाडपर्व र परम्पराको संरक्षण र प्रवर्धनमा प्रतिबद्ध रहेको बताएका छन्।
मंगलबार सिरुवा पर्वको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री कार्कीले सिरुवा जस्तो मौलिक पर्वको संरक्षण गर्दै सबै जातजाति, धर्म, संस्कृतिको पहिचान स्थापित गर्न आफू नेतृत्वको सरकार अग्रसर रहेको उल्लेख गरेका हुन्।
सिरुवा पर्वले नेपालका विभिन्न समुदायबीच एकता, समन्वय र सहकार्यको भावना विकास गर्ने बताउँदै उहाँले यस्तो पर्वले समाजलाई सकारात्मक दिशातर्फ डोऱ्याउने विश्वास व्यक्त गरे।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले मनाइरहेको पर्यटन वर्ष २०८२ का अवसरमा यस्ता मौलिक पर्वहरूले देश–विदेशमा रहेका नेपाली तथा पर्यटकहरूलाई समेत आकर्षित गर्ने बताए।
उनले भनेका छन्– “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक मुलुक हो। यस्ता मौलिक पर्वले हामीलाई आफ्नो संस्कार, संस्कृति र पहिचानको जगेर्ना गर्दै समृद्धिको यात्रामा अघि बढ्न प्रेरणा दिन्छ।”
साथै, ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय आकांक्षा पूरा गर्न भाषा, धर्म, संस्कृति, रीतिरिवाज र परम्परालाई संरक्षण गर्दै अगाडि बढ्नुपर्ने कुरामा मुख्यमन्त्रीको जोड छ।
नेपालको तराई क्षेत्रमा बसोबास गर्ने समुदायहरूले सिरुवा पर्वलाई विशेष चाडका रूपमा मनाउँदै आएका छन्।