झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले रोकिएका योजना तथा पूर्वाधार विकासका कामहरूलाई प्राथमिकतामा राखेर अघि बढाएको बताएका छन्। झापाको गौरादहमा नगर अस्पतालको शिलान्यास गर्दै उनले एसियाली राजमार्ग, हुलाकी राजमार्ग र मदन भण्डारी राजमार्गको निर्माण कार्यलाई तीव्रता दिइएको जानकारी दिए।
“अहिले बजेट निर्माणको समय हो। अर्थतन्त्र बिग्रिएको अवस्थामा थियो, अब बल्ल सही दिशामा ल्याएका छौं,” प्रधानमन्त्री ओलीले भने, “ठूला नयाँ योजना ल्याउने अवस्था छैन, पहिल्यै सुरु गरिएका योजना सम्पन्न गरिनेछ।”
प्रधानमन्त्री ओलीले कृषिमा आधुनिकीकरण र व्यवसायिकरणमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। उनले सहकारीमार्फत कृषिमा अनुदान र युवाहरूलाई स्टार्टअप कर्जाका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको जानकारी दिए।
प्रतिनिधि सभा सदस्य समेत रहेका ओलीले गौरादह नगर अस्पताललाई सुविधा सम्पन्न बनाउने प्रतिबद्धता जनाए। उनका अनुसार अस्पतालमा क्रमशः डायलाइसिस सेवा, आँखा उपचार लगायतका सेवा थपिँदै जानेछन्।
नगर प्रमुख छत्रपति सुवेदीका अनुसार, १५ शैयाको उक्त अस्पताल १२ करोड ५९ लाख ७९ हजार रुपैयाँ लागतमा ३२ कठ्ठा क्षेत्रफलमा निर्माण हुनेछ, जुन २०८३ सालको माघ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ। शिलान्यास समारोहकै अवसरमा अस्पताल निर्माणका लागि जग्गा दान गर्ने परिवारलाई सम्मान पनि गरिएको थियो।