काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्यान्डको औपचारिक भ्रमणका लागि प्रस्थान गर्दैछन्। थाइल्यान्डकी प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राको निमन्त्रणामा ओली बैंकक प्रस्थान गर्नेछन्। भ्रमणका क्रममा, प्रधानमन्त्री ओली बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुनेछन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, त्रिभुवन विमानस्थलमा दिउँसो १२:३० बजे सञ्चारकर्मीलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। ओलीको भ्रमण टोली दिउँसो १:३० बजे थाई एयरलाइन्सबाट बैंकक प्रस्थान गर्नेछ।
यस भ्रमणमा, प्रधानमन्त्री ओली थाइल्यान्डका राजा र प्रधानमन्त्रीसँग भेटवार्ता गर्नेछन्। साथै, एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी) मा सम्बोधन गर्ने छन्। प्रधानमन्त्रीले एआइटीलाई अनुदानको रुपमा १ लाख अमेरिकी डलर दिने निर्णय गरेका छन्।
भ्रमणको क्रममा, द्विपक्षीय वार्ता पछि ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुनेछन्। चैत २२ गते, प्रधानमन्त्री ओली बिमस्टेक शिखर सम्मेलनमा सम्बोधन गर्नेछन् र त्यसपछि नेपाली दूतावासको कार्यक्रममा सहभागी हुनेछन्।
प्रधानमन्त्री ओलीको भ्रमण टोली २३ गते स्वदेश फर्किनेछ।