Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राजावादीको आन्दोलन लोकतन्त्रमाथिको प्रहार – मुख्यमन्त्री कार्की



विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिम्मत कुमार कार्कीले काठमाडौँमा भएको हिंसात्मक आन्दोलनलाई लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन्।

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको ज्ञापनपत्र बुझ्दै आज विराटनगरमा पत्रकारहरूसँग कुराकानीमा मुख्यमन्त्री कार्कीले सञ्चारमाध्यममाथि भएको आक्रमण र पत्रकारको हत्या सुनियोजित रूपमा लोकतन्त्रमाथि प्रहार गरिएको बताएका हुन्।

उनले पत्रकार महासङ्घले लोकतान्त्रिक शासन प्रणालीको पक्षमा उठाएको आवाजमा आफू सदैव उभिने प्रतिबद्धता व्यक्त गर्दै व्यवस्थाप्रतिको प्रहार रोक्न र गणतन्त्रको पक्षमा उभिन पत्रकारहरूलाई आग्रह गरे। मुख्यमन्त्री कार्कीले पत्रकारहरूको सुरक्षा तथा क्षतिपूर्तिका लागि प्रदेश सरकारले केन्द्रीय सरकारसँग समन्वय गरी आवश्यक पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

मुख्यमन्त्री कार्कीले काठमाडौँमा भएको तथाकथित आन्दोलन वास्तवमा आन्दोलन नभएर लुटपाटको श्रृङ्खला मात्र भएको बताए। उनले अपराधिक मनस्थितिबाट गरिएको यस प्रकारको गतिविधि सबैले विरोध गर्नुपर्ने बताए। पत्रकारहरूको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गर्दै उनले प्रहरी र पत्रकारमाथि आतंककारी शैलीमा गरिएको आक्रमण सभ्य समाजका लागि अस्वीकार्य रहेको धारणा राखे।

नेपाल पत्रकार महासङ्घले पत्रकारहरूको सुरक्षाको माग गर्दै मुख्यमन्त्री कार्कीलाई आज बिहान ज्ञापनपत्र बुझाएको थियो। महासङ्घका कोशी प्रदेशका केन्द्रीय सदस्य कमल रिमाल, प्रदेश अध्यक्ष भरत खड्का, जिल्ला अध्यक्ष सुशिला पाठक लगायतका पदाधिकारी तथा सदस्यहरूले मुख्यमन्त्री कार्कीलाई पत्रकारहरूको पेशागत सुरक्षा र जीवन रक्षाको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार