विराटनगर । कोशी प्रदेशमा राजश्व सङ्कलनमा वृद्धि भएको छ । गत वर्षको हालसम्मको तुलनामा कोशी प्रदेशमा आन्तरिक राजस्वमा २५.३ प्रतिशतले वृद्धि भएको छ । सवारी कर सङ्कलन लगायतमा वृद्धि हुँदा समग्र प्रदेशको राजश्व सङ्कलनमा सुधार देखिएको हो ।
प्रदेश सरकारले हालसम्म १८ अर्ब १० करोड ५९ लाख रुपैयाँ प्रदेश सञ्चित कोषमा प्राप्त गरेको छ । जसमा सङ्घीय राजस्व बाँडफाँट र आन्तरिक राजस्व बापत ९ अर्ब ३० करोड २८ लाख प्राप्त गरेको छ । जुन वार्षिक लक्ष्यको ५३.५ प्रतिशत हो ।
यस्तै प्रदेश सरकारले सङ्घीय अनुदान तर्फ हालसम्म ८ अर्ब ८० करोड ३१ लाख रुपैयाँ प्राप्त गरेको छ । जुन वार्षिक लक्ष्यको ६०.५० प्रतिशत हो । प्रदेश सरकारको घर जग्गा रजिस्ट्रेसन, सवारी कर, सवारी चालक अनुमति पत्र, व्यवसाय रजिस्ट्रेसन बापत लिने कर राजश्वको प्रमुख श्रोत रहेको छ । यी श्रोत मध्ये अधिकांशमा आर्थिक वर्ष ०८० /०८१ को भन्दा बढी राजश्व सङ्कलन भएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार सवारी साधन करमा १२.८ प्रतिशत, घर जग्गा १७.१ प्रतिसतले गत वर्षको तुलनामा वृद्धि भएको छ ।
यसैगरी सवारी चालक अनुमति पत्र बापत प्राप्त हुने आम्दानीमा ७.८ प्रतिशत र व्यवसाय रजिस्ट्रेसनमा १४.२ प्रतिशतले वृद्धि भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष ०८१ /०८२ का लागि ३५ अर्ब २८ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको थियो रहेको छ ।
प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार जसमा चालु खर्च ३९.९ प्रतिशत र पुँजीगत खर्च २७.३ प्रतिशत भएको छ । कोशी प्रदेशमा पुँजीगत खर्च ४ अर्ब ५१ करोड ५२ लाख र चालू खर्च तर्फ ५ अर्ब ५५ करोड २८ लाख खर्च भएको छ । गत आर्थिक वर्ष ३०.२ प्रतिशत मात्रै खर्च प्रगति भएको थियो ।