विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले घरेलु उद्योगका कपडाको प्रवर्द्धन गर्न प्रदेशमा कार्यरत निजामती कर्मचारीहरूले अनिवार्य रूपमा प्रयोग गर्ने नीति निर्माण गरिने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी र महिला उद्यमी विकास समिति प्रदेश समितिको संयुक्त आयोजनामा विराटनगरको जैन भवनमा सुरु भएको तीन दिने ढाका महोत्सव – २०८१ को उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले तराई, पहाड र हिमालमा कार्यरत कर्मचारीका लागि उपयुक्त हुने कपडा घरेलु उद्योगले उत्पादन गर्नुपर्नेमा जोड दिए ।
उनले प्रदेशका सामुदायिक विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरूलाई घरेलु तथा ढाका कपडा प्रयोगका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीले जनताको समृद्धिलाई प्रदेश सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै, सरकार स्थापनाको सात वर्षको अवधिमा कोशी प्रदेशमा ‘मिल्क होलिडे’ नभएको दाबी गरे। उनका अनुसार सरकारको आवश्यक नीति तथा अनुदानका कारण दूध तथा दुग्धजन्य परिकारको उत्पादन वृद्धि भएको छ।
उनले नेपाल सरकारसँग मिलेर ढाका उत्पादनका घरेलु उद्योग प्रवर्द्धन र विदेश निकासीका लागि आवश्यक नीति निर्माणका लागि पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।
कार्यक्रममा कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले ढाका कपडाको स्वदेशी बजारीकरणमा सबैको सहयोग आवश्यक रहेको बताइन् ।
त्यस्तै, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे, सामाजिक विकास मन्त्रालयका सचिव हेमराज तामाङ र मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ढाका उद्योग प्रवर्द्धन तथा बजारीकरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने धारणा राखे ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत, महिला उद्यमी महासंघकी प्रदेश अध्यक्ष कमला श्रेष्ठ, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना तथा महिला उद्यमी एवं कार्यक्रम संयोजक सरु केसीले ढाका उद्योगलाई आवश्यक कच्चा पदार्थमा सरकारले अनुदान उपलब्ध गराउनुपर्ने माग गरे।
‘नेपाली भेषभूषा, हाम्रो बोली, ढाकाको सारी चोली’ भन्ने नाराका साथ तीन दिनसम्म चल्ने ढाका महोत्सवमा प्रदेशका १४ जिल्लाका घरेलु उद्यमीका ३० स्टलहरू राखिएको छ।