Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेशमा ‘अबको युद्ध, दुर्व्यसनविरुद्ध’ अभियान सुरु




विराटनगर । कोशी प्रदेशमा ‘अबको युद्ध दुर्व्यसनविरुद्ध’ भन्ने नारासहित नयाँ अभियान सुरु गरिएको छ। प्रदेश प्रहरी कार्यालयले कोशी प्रदेश सरकारको सहकार्यमा यो अभियान थालेको हो।

दुर्व्यसनको समस्या प्रदेशभर भयावह बन्दै गएपछि सरकारले यसलाई नियन्त्रण गर्ने प्राथमिकतासहित प्रहरीसँग सहकार्य गरेको हो। अभियानको शुभारम्भ आज सुनसरीको इटहरीमा एक औपचारिक समारोहबीच गरिएको छ।

मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अभियानको उद्घाटन गर्दै दुर्व्यसन नियन्त्रण सरकारको एकल प्रयासले सम्भव नहुने भएकाले अभिभावक, शिक्षक, सामाजिक अभियन्ता, जनप्रतिनिधि सबैको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले प्रदेश सरकार कानुनी र आर्थिक प्रबन्ध गरी दुर्व्यसनविरुद्ध सशक्त कदम चाल्न प्रतिबद्ध रहेको उल्लेख गरे।

आफू आन्तरिक मामिला तथा कानुन मन्त्री हुँदा ‘म अघि बढ्छु’ कार्यक्रममार्फत दुर्व्यसन नियन्त्रणमा प्रयास गरेको स्मरण गर्दै उनले राजनीतिक कारणले त्यो अभियान निरन्तरता नपाएकोमा खेद प्रकट गरे ।  हाल भने दुर्व्यसन सहरबाट गाउँतर्फ फैलिन थालेको भन्दै उनले सबैलाई एकजुट भएर समाधानको लागि अघि बढ्न आग्रह गरेका छन ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले अभियानको अवधारणा प्रस्तुत गरेका थिए । औपचारिक कार्यक्रमअघि इटहरी नगरमा झाँकीसहित र्याली निकालिएको थियो। अभियान सञ्चालनका लागि कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विशेष सहयोग गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार