Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नेविसंघको आधिकारिकता विवादपछि महेन्द्र मोरङ क्याम्पसमा तालाबन्दी



विराटनगर । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को आधिकारिकता विवादका कारण महेन्द्र मोरङ क्याम्पस, विराटनगरमा तालाबन्दी गरिएको छ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि नेविसंघका दुई खेमाले अलगअलग मनोनयन दर्ता गरेपछि विवाद चुलिएको हो।

स्ववियु निर्वाचनमा नेता शेखर कोइराला पक्षबाट योगराज दाहालको प्यानल र संस्थापन पक्षबाट प्रज्वलजंग विष्टको प्यानल दर्ता भएको थियो। तर, निर्वाचन समितिले कोइराला पक्षको उम्मेदवारलाई स्वतन्त्र रूपमा सूचीकरण गरेपछि असन्तुष्ट विद्यार्थीहरूले बुधबार निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका हुन्।

नेविसंघ मोरङका सभापति सरोज पोखरेलले केन्द्रले परिपत्र गरे पनि निर्वाचन समितिले मध्यरातमा स्वतन्त्र नामबाट नामावली प्रकाशन गरेको आरोप लगाए। “हाम्रो आधिकारिकतालाई चुनौती दिएकाले तालाबन्दी गरेका हौं,” उनले भने।

यसअघि, महेन्द्र मोरङ क्याम्पसमा इकाइ गठनको विषयमा विवाद हुँदा नेविसंघका दुई पक्षबीच झडपसमेत भएको थियो।

यसैबीच, विराटनगरको नर्सिङ क्याम्पसमा नेविसंघकी सुजिता खत्रीले सभापतिमा उम्मेदवारी दिएकी छन्। त्यहाँ अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले आफ्ना उम्मेदवार उठाएका छन्। नेविसंघ केन्द्रीय सदस्य एरिका ढकालले केन्द्रीय प्रतिनिधिको रोहबरमा मनोनयन दर्ता गरिएको बताइन्। “केन्द्रले नतोकी दर्ता गराउनेलाई स्वतन्त्र मानेर नामावली प्रकाशन गरिएको हो,” उनले भनिन्।

महेन्द्र मोरङ क्याम्पसको घटनापछि नेविसंघ संस्थापन पक्षले मोरङ जिल्ला सभापतिमा मोहम्मद तनवीरलाई चयन गरिएको घोषणा गरेको छ।

त्यस्तै, विराटनगरको स्नातकोत्तर क्याम्पसमा पनि निर्वाचन विवादकै कारण अनेरास्ववियुले तालाबन्दी गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार