विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पर्यटन प्रवर्द्धन र विकास दीर्घकालीन सोचका साथ गर्नुपर्ने बताएका छन्। आज इटहरीमा आयोजित कोशी पर्यटन वर्ष २०८२ को नीतिगत अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पर्यटन क्षेत्रको विकास एकदिने अभियान नभई निरन्तर गर्ने काम भएकाले योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
मुख्यमन्त्री कार्कीले “पर्यटनको विकास र प्रवर्द्धन बिहे गरेजस्तो एकदिने कार्य होइन, यो वर्षौं लगाएर गर्ने काम हो। त्यसैले दीर्घकालीन सोचका साथ अगाडि बढ्नुपर्छ,” भन्दै पर्यटन क्षेत्रको मजबुत विकासबाट राष्ट्रिय पुँजी निर्माण गर्न सकिने बताए।
उनले पर्यटन प्रवर्द्धनका लागि सरकार, निजी क्षेत्र र कर्मचारी संयन्त्रबीच एकरूपता आवश्यक रहेको उल्लेख गर्दै, यदि सोचाइहरू फरक परेमा कार्यान्वयनमा समस्या आउने बताए। साथै, कोशी प्रदेशले पर्यटनको क्षेत्रमा केन्द्र र स्थानीय तहलाई प्रेरित गर्ने गरी उदाहरणीय काम गर्नुपर्नेमा जोड दिए।
पर्यटन प्रवर्द्धनका लागि संरचनागत, नीतिगत र कानुनी सुधार अनिवार्य रहेको उल्लेख गर्दै उनले व्यवस्थापकीय कामलाई चुस्तदुरुस्त बनाउँदै अघि बढ्नुपर्ने धारणा राखे। उनले युवाहरूलाई पर्यटन प्रचार-प्रसारमा संलग्न गराउँदै देशभर पर्यटनको माध्यमबाट उज्ज्वल भविष्य सम्भव छ भन्ने सन्देश दिनुपर्ने बताए ।
पर्यटन, वन तथा वातावरण मन्त्रालय द्वारा आयोजित कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभा सदस्य, सचिव तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।