Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार : मुख्यमन्त्री कार्की



विराटनगर – कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न तयार रहेको बताएका छन्।

आज विराटनगरमा आयोजित विराटनगर ट्रक व्यवसायी सङ्घको ३३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सरकार एक्लैले सबैथोक गर्न नसक्ने भएकाले निजी क्षेत्रसँग हातेमालो गर्दै विकासका कार्यहरू अघि बढाउनुपर्ने बताएका हुन्।

उहाँका अनुसार कोशी प्रदेश सरकारले सहकार्यको मोडललाई प्राथमिकता दिँदै विराटनगरको पार्किङ व्यवस्थापनका लागि २ करोड रुपैयाँ छुट्याएर काम गरिसकेको छ। साथै, प्रदेश सरकार आगामी वैशाख १८ र १९ गते लगानी सम्मेलन गर्ने तयारीमा रहेको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले  सम्मेलनले प्रदेशमा लगानीको वातावरण बनाउने विश्वास व्यक्त गरे।

प्रदेश सरकारले सुशासनलाई बलियो बनाउँदै विकास र समृद्धितर्फ अघि बढिरहेको उल्लेख गर्दै उनले असारे विकासको प्रवृत्तिलाई निरुत्साहित गर्न सरकार लागिपरेको बताए। उहाँले प्रदेशमा रोजगारी सिर्जना र उत्पादकत्व वृद्धि गर्ने क्षेत्रमा साझेदारी गर्दै अघि बढ्ने प्रदेश सरकारको योजना रहेको पनि जानकारी दिए।

‘नयाँ क्षेत्रमा व्यवसायीहरूले लगानी गर्दा सरकार पनि सँगै हातेमालो गर्न तयार छ’- उनले भने, -‘सहकार्यको माध्यमबाट राष्ट्रिय पुँजीसमेत विकास गर्न सकिन्छ।’

कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले प्रदेश सरकार यातायात क्षेत्रको सुधारमा लागिपरेको बताए।

यस्तै, ट्रक व्यवसायीहरूले आफूहरूले भोगिरहेका समस्या बारे मुख्यमन्त्रीलाई अवगत गराएका थिए। ढुवानी व्यवसायी शम्भुप्रसाद भट्टराईले ढुवानी क्षेत्रका समस्या समाधान गर्न आग्रह गरे। व्यवसायी मेघराज सिग्देलका अनुसार अधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार