Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी सरकारले कडा रोग लागेका बिरामीलाई सहायता रकम वितरण गर्ने



विराटनगर  । कोशी प्रदेश सरकारले गम्भीर रोग लागेका बिरामीलाई दिँदै आएको सहयोग रकम वितरण गर्ने भएको छ। आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले ८ करोड ६० लाख रुपैयाँ थप निकासा गर्ने निर्णय गर्दै बिरामीलाई सहायता रकम वितरण गर्ने निर्णय गरेको हो।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता रेवती रमण भण्डारीका अनुसार यो पटक सहायता रकम वितरण गरेपछि अर्को वर्षदेखि भने भिन्नै तरिकाबाट सहयोग गर्ने नीति लिइनेछ।

यस्तै, आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभामा गर्ने सम्बोधनको तयारीका लागि प्रदेश सभालाई आग्रह गर्ने निर्णय गरेको छ।

त्यसैगरी, प्रदेशमा आएका प्रदेश सचिव रामप्रसाद आचार्यलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा खटाउने तथा सचिव पवन कुमार तिम्सिनालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै कामकाज गर्न खटाउने निर्णय भएको मन्त्री भण्डारीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले धनकुटा नगरपालिका र चीनको फुझाउ सहरबीच भगिनी सम्बन्ध कायम गर्न परामर्श दिने तथा कोशी पर्यटन वर्षका लागि विनियोजित रकमको स्रोतगत बाँडफाँड गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार