काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो ७४५ ग्राम सुनसहित ३ जना विदेशी महिला पक्राउ परेका छन् । गएराति फ्लाइ दुबईबाट नेपाल आएका ३ जना उज्बेकिस्तानका तीन जना महिलालाई प्रहरीले सुन सहित पक्राउ गरेको हो ।
४ जनाको टोली आएको मध्ये तीन जना महिलाको साथबाट साढे ३ किलो बढी सुन बरामद गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता लालबाबु सुवेदीले जानकारी दिए ।
उनका अनुसार ४ जनामध्ये एक जना पुरूष हुन् । उनको साथबाट भने सुन बरामद नभएता पनि उनीहरू एउटै समूहका हुन् । तीन महिलाले मलद्वारमा डल्लो बनाएर ल्याएका थिए । विमानस्थलमा खटिएको प्रहरीले एक्सरेमा चेक जाँच गर्दा शंकास्पद देखिएपछि केएमसी लगेर भिडियो एक्सरे गरेर हेर्दा सुन देखिएको थियो । पक्राउ परेकाहरुलाई थप अनुन्धान सुरु गरिएको छ ।