Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पूर्वमा बढेको आकर्षणले देशभरलाई उर्जा दिन्छ : प्रचण्ड



विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनताको पूर्वमा माओवादी प्रतिको आकर्षण बढेको बताएका छन् । यो आकर्षणले पूर्वबाट रातो सूर्य उदाउँदै गरेको उल्लेख गर्दै यसले देशव्यापी रूपमा ऊर्जा दिने उनले बताए ।

जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत मोरङको कानेपोखरी गाउपालिकाको रमाइलो बजारमा आयोजित खबरदारी सभा तथा दोस्रो गाउँ सम्मेलन उद्घाटन गर्दै उनले पछिल्लो समय पूर्वमा माओवादी र यसको एजेन्डाप्रति देखिएको आकर्षणले पूर्वमा रातो सूर्य उदाएको छ भन्ने उक्ति चरितार्थ हुँदै गरेको दाबी गरे । उनले पछिल्लो स्थानीय तहको उपनिर्वाचनसम्म आइसक्दा यो व्यावहारिक रूपमै पुष्टि भएको र ८४ को निर्वाचनमा पुग्दा यसको देशव्यापी प्रभाव देखिएको बताए।

पछिल्लो समय वर्ग र समुदायसँग अलि टाढा हुँदै गएको अनुभूतिसहित फेरि आफ्नो वर्ग र समुदायमा फर्कने निर्णयले जनतामा नयाँ उत्साह ल्याएको उनले बताए। अध्यक्ष दाहालले उत्पीडित समुदायको प्रत्यक्ष सहभागितामा भएको जनयुद्धले सबै क्षेत्रमा ऐतिहासिक जागरण ल्याएको र २०६४ सम्म आउँदा जनताले माओवादीलाई विश्वास गरे पनि पार्टी आफैँ सम्हालिन नसक्दा र आफ्ना एजेन्डा सम्हाल्न नसक्दा आफ्नो वर्ग र समुदायले नै आशंका गर्ने अवस्था बन्न पुगेकाले गम्भीर आत्मसमीक्षासहित पार्टी फेरि आफ्नै वर्गमा फर्केको बताए।

विगतमा कहिले काङ्ग्रेस त कहिले एमालेसँग गठबन्धन गर्दा उनीहरूलाई फाइदा भएको, माओवादीलाई घाटा भएको र जनताका एजेन्डा कमजोर भएकाले अब त्यस्तो भुल नदोर्याउने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार