इटहरा । रतुवामाई नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका पदक विजेता खेलाडीहरुलाई राष्ट्रनिर्माण सेकेन्डरी बोर्डिङ स्कुलले सम्मान गरेको छ । सोमबार विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी खेलाडीहरुलाई सम्मान गरिएको हो ।
रतुवामाई -१ स्थित सरस्वती माध्यमिक विद्यालयमा फागुन २,३ र ४ गते सञ्चालन भएको १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राष्ट्रनिर्माण स्कुलले जितेको थियो ।
राष्ट्रनिर्माणले १७ स्वर्ण, ९ रजत र ७ कास्य पदक जित्दै उपाधि हात पारेको थियो । योसँगै रनिङ शिल्डको इतिहासमा एकैपटक १७ स्वर्ण पदक जित्ने पहिलो विद्यालय बनेको छ ।
सम्मान कार्यक्रममा विद्यालयका प्रिन्सिपल विश्वास ढकालले विद्यार्थीहरुको प्रतिभा, मिहेनत र लगनशीलताको प्रोत्साहन गर्न सकेमा उनीहरुको भविष्य उज्यालो हुने बताए । पुरस्कार वितरण विद्यालयका लागि गौरवको क्षण रहेको र विद्यालयका सम्पूर्ण शिक्षक, विद्यार्थी र प्रशासन विभागको अथक मेहेनतले यो उपलब्धि हासिल गर्न सफल भएको भन्दै उनले सबैलाई धन्यवाद समेत दिए ।
विद्यालयका सहायक प्रिन्सिपल अनिल खनालका अनुसार खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान गरिएको छ । यस्तै रनिङ शिल्डमा नगरपालिकाभरिमा सबैभन्दा बढी स्वर्ण पदक जित्ने राजेश मर्डीलाई कक्षा १२ मा १०० % छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको उनले बताए ।
विद्यालयका अनुसार अब हरेक वर्ष राष्ट्रपति रनिङ शिल्डमा सबैभन्दा बढी पदक जित्ने खेलाडीलाई १००% छात्रवृत्ति प्रदान गरिनेछ ।