Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

भूमिसम्बन्धि अध्यादेश पास हुन्छ : मुख्यमन्त्री कार्की



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भूमि सम्बन्धि समस्या समाधान नगरे मुलुकको व्यवस्था नै खतरामा पर्ने बताएका छन् ।

आज विराटनगरमा भूमि समस्या समाधान आयोगको प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले तीन वर्षभित्र भूमिसम्बन्धि सबै समस्या समाधान गर्ने गरी बनाएको भूमि समस्या समाधान आयोगले तीन वर्षभित्रमा सबै कार्यभार पुरा गर्नुपर्ने बताए ।

उनले भूमि सम्बन्धि केही नेपाल ऐन संसोधन गर्ने अध्ययादेश संसदबाट पारित हुने समेत दाबी गरे । यो अध्यादेश संसदमा पेश भएपछि माओवादी केन्द्रले समेत नाकको चालले समर्थन गर्नुपर्ने मुख्यमन्त्री कार्कीले बताए ।

भूमिसम्बन्धि समस्या समाधान गर्न नचाहनेले मात्रै यो अध्यादेशको विरोध गर्ने भन्दै उनले व्यवस्थालाई नै खतरामा पार्ने गरी मुख्य तीन दलहरुले काम गर्न नहुने धारणा राखे । ४० वर्ष भन्दा लामो समयदेखि भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासी लगायतकाको समस्या समाधान हुन नसकिरहेको अवस्थामा देशभर ६० लाख जना प्रभावित हुने गरीको यो काम रोक्न नहुने मुख्यमन्त्री कार्कीको भनाइ छ । उनले भने – ‘यो व्यवस्थाका पक्षपति तीन दल नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रले सत्तामा नहुनेबित्तिकै व्यवस्थामाथि नै आँच आउने काम गर्नु हुँदैन् । त्यसैले यो समस्या समाधान गर्न लाग्नु पर्छ ।’

अहिले केही सानो समूहले सिस्टममाथि नै प्रहार गर्न खोजिरहेको अवस्थामा पूर्वप्रधानमन्त्री भइसकेका व्यक्तिहरुले पनि गलत ढंगले अभिव्यक्ति दिइरहेको भन्दै उनले रोष प्रकट गरे । अध्यादेशका विषयमा सत्ता र पदकालागि केही व्यक्तिहरुले बार्गेनिङ गरिरहेको उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले भूमि समस्या समाधान आयोगलाई जस्तो सुकै सहयोग गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको बताए ।

उनले आयोगको टिओआर अनुसार सडक र बगर क्षेत्रका बसोबासीको समस्या समाधान गर्ने केही कठिनाई देखिएको भन्दै त्यसमा समेत ध्यान दिन आग्रह गरे । कार्यक्रममा नेपाली काँग्रेस कोशी प्रदेशका सभापति तथा पूर्वमुख्यमन्त्री उद्धव थापा, नेकपा एमाले कोशी प्रदेश समितिका अध्यक्ष घनश्याम खतिवडालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कोशी प्रदेशमा करिब ३ लाख परिवार भूमिहीन अव्यवस्थित बसोबासी अरु रहेको सो अवसरमा जानकारी दिएको थियो। देशभरमा यस्तो सङ्ख्या करिब १२ लाख रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार