विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई गएको निर्वाचनमा सबै भन्दा बढी असर परेको जिल्ला मोरङ रहेको बताएका छन् ।
ठुला ठुला चुनौतीलाई सामना गरेको मोरङ जिल्ला कमिटी मत रक्षा गर्ने कुरामा सफल हुन नसकेको भन्दै जिल्ला कमिटीको आलोचना गरे । नेकपा एमाले विराटनगर महानगरपालिका संगठन कमिटीको जरा केन्द्रित अभियानको उद्घाटन गर्दै उनले जिल्ला तहमा भएको गुटबन्दीले समस्या भएको बताए ।
कोशी प्रदेश अधिवेशन र खानेपानीको निर्वाचनले गर्दा पार्टीमा समस्या देखिएको भन्दै उनले यसले पार्टी कमजोर भएको बताएका छन् ।
विराटनगर महानगरपालिका कमिटीको जरा केन्द्रित अभियान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले संसदका दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच सत्ता संचालनमा स्थायित्व खोज्ने आधारमा गठबन्धन भएको बताए ।
पोखरेलले साना दलहरुले संसदमा रहेको आफ्नो सिमित संख्यालाई जादुयी संख्या भन्दै ठूला दलहरुलाई नियन्त्रण गर्ने अस्थिर र भद्दा राजनीतिको अन्त्य गर्न समेत गठबन्धनको निर्माण भएको धारणा राखे ।
प्रशिक्षण कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरेले पार्टीले संगठनमा सुधार ल्याउनका निम्ति देशव्यापी रुपमा जरा केन्द्रित अभियान संचालन गरेको बताए ।