विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सचिव र मन्त्रीलाई जागिर खान र झण्डा हल्लाउने मात्रै नभई प्रभावकारी काम गर्न निर्देशन दिएका छन् । आज आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले अनुभुति गर्ने गरी काम गर्न आग्रह गरे ।
‘तपाईहरु अधिकाँश मन्त्रालयका सचिव कोशी प्रदेश कै हुनुहुन्छ, प्रदेशको विकास गर्न लाग्नु भयो भने तपाईहरुकै इज्जत हुन्छ । त्यसलै जागिर खानमात्रै नलाग्नुहोस् काम गर्नुहोस ।’ सचिवहरुलाई निर्देशन दिएपछि मुख्यमन्त्री कार्कीले मन्त्रीहरुलाई भने – ‘मन्त्रीहरुलाई झण्डा हल्लाएर मन्त्री हुनका लागि मात्रै नभइ हामीले काम गरेर देखाउनु पर्छ भन्दै मन्त्री र सचिवहरुले प्रभावकारी काम गर्नुहोस ।’
प्रदेश संरचना प्रति प्रश्न उठिरहेको बेला राम्ररी काम गर्नुपर्ने दायित्व मन्त्री र सचिवहरुमा रहेकोमा उहाँले जोड दिनुभयो । अहिलेको सरकारले राजनीतिक स्थायित्व प्राप्त गर्ने भएकाले दायाँबायाँ नगरिकन काम गर्नुपर्ने बताए ।
उनले सबै मन्त्रालयहरूले कार्यक्षमता बढाएर बजेट कार्यान्वयन गर्नुपर्ने र राजस्व वृद्धि गर्न ध्यान दिनुपर्ने बताए । मुख्यमन्त्री कार्कीले चाँडै नै राजस्व कार्यालय स्थापना हुने र यस मार्फत प्रदेशको राजस्व बढाउनका लागि पहल गरिने जानकारी दिए । आन्तरिक राजस्व बढाएर काम गर्न सके प्रदेश सरकार बलियो हुने उनले धारणा राखे ।
पुल, बाटो, सडकलाई मात्रै विकासको रुपमा हेरिरहेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले मानवीय विकासका सुचांकमा पनि ध्यान दिनुपर्नेमा जोड दिए । प्रदेश सरकारले बिस्तारै योजना छनोटमा आयोजना बैंकलाई कार्यान्वयनमा ल्याउने गरी काम गरेको उल्लेख गर्दै उनले बजेटलाई व्यवस्थित गर्नका लागि आगामी दिनमा प्रदेशको योजना आयोग मार्फत सिलिङ तोक्ने तयारीमा लाग्नका लागि निर्देशन दिए ।
प्रदेशको भौतिक प्रगति धिमा भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भौतिक प्रगतिलाई छिटो र छरितो ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता रहेको औँल्याए ।
कार्यक्रममा सभापतिको आसन ग्रहणबाट बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री आम्दानीका क्षेत्रलाई बढाउनका लागि काम गर्नुपर्ने बताए । समीक्षा कार्यक्रममा प्रदेशका सबै मन्त्रालयहरूले आफ्नो वित्तीय प्रगति सुनाएका थिए। साथै मन्त्रालयका सचिवहरुले काम पर्दा परेका कठिनाइ र चुनौतीलाई पनि प्रस्तुत गरेका थिए।