विराटनगर। मोरङमा माघ २३ गतेदेखि पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप लगाइने भएको छ । दुई चरणमा खोप अभियान सुरु गरिने भएको हो ।
पहिलो चरणमा माघ २३ देखि विराटनगर महानगरपालिका, मिक्लाजुङ गाउँपालिका, लेटाङ नगरपालिका, बेलबारी नगरपालिका, सुन्दरहरैचा नगरपालिका, ग्रामथान गाउँपालिका, बुढीगंगा गाउँपालिका र केरावारी गाउँपालिकामा खोप लगाइने छ ।
दोश्रो चरणमा माघ २७ देखि फागुन १ सम्म पथरीशनिश्चरे नगरपालिका, कानेपोखरी गाउँपालिका, उर्लाबारी नगरपालिका, रतुवामाई नगरपालिका, सुनबर्षि नगरपालिका, रंगेली नगरपालिका, धनपालथान गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने आज विराटनगरमा आयोजित जिल्ला खोप समन्वय समिति तथा सञ्चारकर्मीबिचको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य अधिकृत उत्सव पोखरेलले बताए ।
अभियानमा विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्राहरु ५० हजार ५९७ र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका १० हजार ५१० गरि ६१ हजार १०७ किशोरीलाई खोप दिइने पोखरेलले बताए । विद्यालयमा ६१३, स्वास्थ्य संस्थामा १६४ र समुदाय स्तरमा ७७ गरि ८५४ खोपकेन्द्र मार्फत खोप लगाईनेछ ।
एचपीभी पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक भएको स्वास्थ्य कार्यालय मोरङका निमित्त प्रमुख मुलुकचन्द राजवंशीले बताए । पाठेघरको मुखको क्यान्सरबाट नेपालमा हरेक दिन ४ जना महिलाहरुको मृत्यु हुने गरेको छ । पाठेघरको मुखको क्यान्सर खोपबाट रोकथाम गर्न सकिने रोग भएको र शुरुको अवस्थामा यसको पहिचान भएमा उपचार गरेर निको हुने राजवंशीले बताए ।
जिल्ला खोप समन्वय समिति तथा सञ्चारकर्मीवीचको अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राई, उपप्रमुख उषा झा, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेल, निजी अस्पताल सञ्चालक संघ कोशी प्रदेशका अध्यक्ष शंकर अधिकारी लगायतले खोप अभियानलाई प्रभावकारी बनाउन सम्पूर्ण पक्षको सहयोग आवस्यक रहेकोमा जोड दिए ।
एचपीभी विरुद्धको खोप अभियान कोशी प्रदेशमा माघ २२ देखि फागुन ७ गते सम्म सञ्चालन हुँदैछ ।