विराटनगर । उद्योग संगठन मोरङले आगामी माघ ११ गतेदेखि सुरु गर्ने विराट एक्स्पो २०२५ को आन्तरिक तयारी पुरा भएको छ । आज आयोजक उद्योग संगठनले पत्रकार सम्मेलनको आयोजना गर्दै एक्सोको आन्तरिक तयारी पुरा भएको जानकारी दिएको हो ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले अब आन्तरिक तयारी पुरा गरेर एक्स्पो स्थलको तयारी सुरु गरेको बताए । पत्रकार सम्मेलनमा एक्स्पोका संयोजक भोलेश्वर दुलालले ‘डिजिटल कोशीः नवप्रवर्तन र लगानी बिचको सेतु’ नाम दिएर एक्स्पोको तयारी रहेको बताए ।
विराटनगरको डिग्री क्याम्पस परिसरमा हुने एक्स्पोमा २६८ वटा स्टल रहने छन् । दुलालले एक्स्पोमा स्टार्टअप भिजन कोसी रोजगार कोसी, व्यावसायिक सेवा प्रदायक, सूचना, शिक्षा तथा डिजिटल प्रविधि मेलाको मुख्य आकर्षक रहने जानकारी दिए । अटोमोबाइल्स, औद्योगिक, कर्पोरेट, कृषि, पर्यटन, खाद्य र प्रायोजक गरी ९ वटा पेभिलियन रहने जानकारी दिइएको छ। विराट एक्स्पोमा २६८ स्टल रहने गरी तयारी सुरु भएको छ । उद्योग सङ्गठन मोरङको आयोजनामा आगामी माघ ११ देखि २० गतेसम्म विराट एक्स्पो २०२५ गर्न लागेको हो।
एक्स्पोमा उद्यमशीलता विकासको सन्दर्भमा नीतिगत, कानुनी र प्रक्रियागत विषयमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका साथै विषयगत विज्ञहरू र बहुपक्षीय सरोकारवालाहरूको सहभागितामा छलफल हुने आयोजक संस्था उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले बताए ।
रोजगार कोसी पेभिलियन अन्तर्गत युवाहरूलाई करिअर काउन्सिलिङ, हस्पिटालिटी, आइटी र इलेक्ट्रिकलका क्षेत्रमा एक्स्पो अवधिमा १ हजार ८ सय जनालाई प्रत्यक्ष तालिम दिइने उनले जानकारी दिए । एक्स्पोलाई कोसी प्रदेश सरकार, विराटनगर महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घ कोसी प्रदेशले प्रवर्द्धन गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।