बझाङ । बझाङमा भएका दुई वटा छुट्टाछुट्टै जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । गएराति साढे आठ बजे तिर तलकोट गाउँपालिकाबाट चैनपुर तिर आइरहेको से १ ज ८४३ नम्बरको जीप तलकोट गाउँपालिका–२ सुकगाडमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जीप चालक केदारस्युँ गाउँपालिका –१ रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका –४ का ३६ वर्षीय बम बहादुर धामी, ७२ वर्षीया जोगेनी देवी धामी र मृतक बम बहादुर धामीको छोरी पाँच वर्षीया आकृती धामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिं ठगुन्नाले बताए ।
दुर्घटना भएको जीप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । चालक सहित तीन जनाको घटना स्थलमै र पाँच वर्षीया बालिकाको उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
यस्तै, गएराति नै करिब नौ बजे तिर मष्टा गाउँपालिकाको भातेखोलाबाट रनाडा तर्फ आउदै गरेको सु प प्र०१००१ ज १३९८ नम्बरको जीप कोटदेवलमा दुर्घटना हुँदा ४२ वर्षीय जीप चालक धर्म थापाको घटनास्थल मै मृत्यु भएको छ ।
चालक मात्रै सवार रहेको उक्त जीप सडकबाट एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।