चितवन । चिवतन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रबाट बस्ती पसेको गैँडाले मंगलबार दिनभरि पूर्वीचितवनमा आतंक मच्चाएको छ । आतंक मच्चाउने गैँडाको आक्रमबाट एक जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् ।
गैँडाको आक्रमणबाट घाइते रत्ननगर नगरपालिका १६ की ७० वर्षीया कृष्णाकुमारी थापाको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
सोही वडाका ७८ वर्षीय डम्बरबहादुर थापा, वडा नम्बर १२ का ७२ वर्षीय चेतनाथ चौलागाईं, ३९ वर्षीया सीता पोखरेल, वडा नम्बर १४ का ६० वर्षीया मिना गुरुङ र २५ वर्षीय पुजन विक घाइते भएका छन् । घाइतेहरुको चितवन मेडिकल कलेज र भरतपुर अस्पताल चितवनमा उपचार भइरहेको छ ।
सोही गैँडाले मंगलबार बिहान खैरहनी नगरपालिकामा पनि दुई जनामाथि आक्रमण गरेको थियो ।
आक्रमणबाट खैरहनी नगरपालिका–१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका थिए ।
बस्तीमा आतंक मच्चाएको गैँडालाई निकुञ्जको टोलीले मिलिजुली सामुदायिक वनबाट भित्र जंगलतिर पठाएको छ । ४ वटा हात्तीको सहयोगमा गैँडालाई सुरक्षित ठाउँतिर पठाउने प्रयास दिनभरि भए पनि गैँडा निकै उत्तेतिज भएका कारणले सम्भव नभएको निकुञ्ज प्रमुख डा. गणेश पन्तले बताए ।