विराटनगर । गैरकानुनी रूपमा नहरको शाखाबाट माटो निकालेर बेच्नेहरूलाई कारबाही गर्न प्रहरी चौकी झोराहाटलाई पत्र लेखेको विषयले मोरङको ग्रामथानमा विवादको रुपम लिएको छ ।
मोरङको ग्रामथान गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजाराम पौडेललाई अध्यक्ष नमोनारायण माझीले स्पष्टीकरण चित्त बुझ्दो नभए कारबाही गर्ने धम्की दिएका छन् । उनले भने – ‘स्पष्टीकरण कुन हिसाबले आउँछ त्यसपछि निर्णय गर्छु ।’
संविधानले नै आफुलाई शासन व्यवस्था गर्ने अधिकार दिएको भएपनि जानकारी नै नदिइ उत्खनन् रोक्ने पत्र लेखेको भन्दै उनले आक्रोश पोखे । उनले भने – ‘सरकार प्रमुखको हिसाबले ग्रामथान गाउँपालिकाको काम कारबाहीको जिम्मा मेरो हो, प्रमुख प्रशासकीय अधिकृत त मेरो मातहतमा हो नी मलाई नै जानकारी नदिने ।’
मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर २ को बिर्ता जाने नहरको शाखाबाट अवैध रूपमा माटो निकालेर बेचेको भेटिएपछि प्रमुख प्रशासकीय अधिकृत राजाराम पौडेलले प्रहरीलाई रोकी दिन भन्दै पत्र पठाएका थिए ।
पुस ९ गते सोमबार ग्रामथानमा रहेको झोराहाट प्रहरी चौकीलाई पत्र लेखेका थिए । गाउँपालिकाले अनुगमन गर्दा समेत उत्खनन भइरहेको पाइएकाले गैर कानुनी उत्खनन रोकी सवारी साधन नियन्त्रणमा लिन उनले प्रहरीलाई आग्रह गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृतले प्रहरीलाई उत्खनन कार्य रोक्न पत्र पठाएको भन्दै ग्रामथान गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष नमोनारायण माझीले ११ गते स्पष्टीकरण सोधेका हुन् ।
यता गाउँपालिकाकी उपाध्यक्ष गुणवती थारुले भने अनगुमनमा जाँदा डोजरले खनेर ट्रिपर र ट्याक्टरले माटो ओसारी रहेका देखेपछि त्यसो नगर्न आग्रह गर्दा समेत नमानेपछि प्रहरीलाई रोक्न अनुरोध गर्दै प्रमुख प्रशासकीय अधिकृतले पत्र पठाएको बताइन् ।