Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राजनीतिक अस्थिरताका कारण अर्थतन्त्र सकारात्मक रुपमा अघि बढ्न सकेन : मुख्यमन्त्री कार्की



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्र सकारात्मक रुपमा अघि बढ्न नसकेको बताएका छन् ।

सरकार परिवर्तन भइरहँदा नीति पनि परिवर्तन हुने गरेकाले अर्थतन्त्रमा समस्या देखिएपनि पछिल्लो समयमा देशको अर्थतन्त्र सही दीशामा गएको मुख्यमन्त्री कार्कीले बताए।

सोमबार विराटनगरमा एभिन्यूज टेलिभिजनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले दुई ठुला दलहरु मिलेर सरकार बनेको र अर्थतन्त्र बिस्तारै सामान्य बन्ने क्रममा रहेको जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले अझै पनि दुई दलबीचको सहकार्य कति समयसम्म जान्छ भन्ने कुराले उद्योगी व्यवसायीहरुबीचमा त्रास उत्पन्न गर्न खोजिएकाले पनि केही कुरा अफ्ठ्यारो भएको धारण राखे ।

उनले नकारात्मक विषयलाई मात्रै सञ्चार माध्ययम र सामाजिक सञ्जालले प्राथमिकता दिदा कतिपय राम्रा विषय ओझेलमा परेको चर्चा गर्दै सरकारले पछिल्लो मौद्रिक निती आएपछि अर्थतन्त्रमा निकै सुधार गरेको दाबी गरे ।

कोशी प्रदेश सरकारले लगानी सम्मेलन,पर्यटन वर्ष र चिया सम्मेलनको कार्यक्रमलाई अघि सारेर प्रदेशमा अर्थतन्त्र चलयामान गर्ने प्रयत्न गरेको कार्कीले बताउँदै भने ,‘ हामी नीतिगत कुराहरु प्रदेशमा हुँने प्रदेशमै र केन्द्रमा हुने केन्द्रमै गएर टुंग्याइ लगानीको वातावरण बनाउने छौं ।’

निजी क्षेत्रलाई उत्साहित गर्न जग्गा लगायत विद्युतका विषयमा सहुलियत दिन छलफल सुरु गरिएको जानकारी दिदै उनले जग्गाको खोजी भइरहेको बताउनुभयो ।

प्रदेशले मात्रै नीति बनाएर नपुग्ने यसमा संघ सरकारले पनि ध्यान दिनुपर्ने अवस्थालाई मध्य नजर गर्दै काम अघि बढेको उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार