Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

लामिछानेविरुद्धको अभियोग पत्र जिल्ला अदालतमा पेश



पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको अभियोग पत्र जिल्ला अदालत कास्कीमा पेश गरिएको छ । लामिछानेलाई पनि अदालतमा लगिएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने गत कात्तिक २ गते प्रहरीले पक्राउ गरी पोखरा पुर्याएको थियो । उनी कास्की प्रहरीको हिरासतमा छन् । उनीमाथि प्रहरीले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा आठपटक म्याद थपेर अनुसन्धान गरेको थियो । सोही अनुसन्धान प्रहरीले जिल्ला सरकारी वकिललाई बुझाएपछि अध्ययन गरेर मुद्दा दर्ताका लागि अदालत लगिएको हो ।
रविसँगै पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङसहित ३१ जनाविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जिल्ला प्रहरी कार्यालयको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको रायबमोजिम मुद्दा दायर गर्ने तयारी गरेको हो । प्रहरीले लामिछानेसहित ५१ जनाबाट डेढ अर्ब रुपैयाँ बिगो असुल्नुपर्ने र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनुपर्ने राय दिएको थियो ।

लामिछानेका हकमा सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत सजाय र सम्पत्ति शुद्धीकरणमा २ देखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवाना लगाउनुपर्ने राय प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार