Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आजदेखि मुग्लिन-काठमाडौं सडक खण्ड दिनमा तीन घण्टा बन्द गरिने



चितवन । स्तरोन्नतिको काम भइरहेको मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ ।

स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा कटान गर्नुपर्ने भएकाले आजदेखि पुस १३ गतेसम्म बिहान ११ देखि दिउँसो २ः०० बजेसम्म बन्द गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

आयोजनाले सूचना जारी गर्दै सो राजमार्ग भएर काठमाडौं जाने आउने सवारीचालकले लेन अनुशासन पालना गरी सवारी चलाउन आग्रह गरेको छ । सो समयमा एम्बुलेन्स, प्रहरीका सवारी र दमकलजस्ता अत्यावश्यक सवारीसाधन चल्न रोकावट नहुने जनाइएको छ ।

नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका इन्जिनियर विजय दराईले पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरी तर्फ जाने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने बताए ।

यसैगरी चितवनतर्फबाट नौबिसे जाने सवारीसाधन चालिसे र घाटबेँसीमा रोकिनेछन् । विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु जाने सवारीसाधन मझिमटार र चरौंदी बजारमा रोकिनेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार