विराटनगर । स्थानीय तह उपनिर्वाचनमा कोशी प्रदेशमा उत्साहपूर्ण सहभागिता देखिएको छ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा १८ हजार ५ सय ७७ मत खसेको छ । यो जम्मा मतदाताको ७१.३ प्रतिशत मत हो । यस्तै सुनसरीको गढी गाउँपालिका ६ मा २ हजार ६४५ अर्थात ७३.२ प्रतिशत मत खसेको छ ।
वडा अध्यक्षका लागि ताप्लेजुङको सिरिजंघा गाउँपालिका ३ मा भएको मतदानमा ८९१ अर्थात ५८.३१ प्रतिशत मत खसेको छ । झापाको कनकाइ नगरपालिका ६ मा १ हजार ५१३ अर्थात ७३.५१ प्रतिशत मत खसेको छ ।
त्यस्तै तेह्रथुमको लालिगुराँस – ८ मा ९२३ अर्थात ६२.३२ प्रतिशत, ओखलढुङ्गाको मोलुङ गाउँपालिका ५ मा ७६८ अर्थात ५७।९६ प्रतिशत, उदयपुरको त्रियुगा नगरपालिका १२ मा २ हजार ७२७ अर्थात ६५.६८ प्रतिशत र उदयपुरकै बेलका नगरपालिका ९ मा १ हजार ८८५ मत अर्थात ६० प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगालले बताउनुभयो ।
कोशी प्रदेशमा एक गाउँपालिका अध्यक्ष र ७ वडाध्यक्ष पदका आज मतदान भएको थियो । पालिका अध्यक्षका लागि १६ जना र सात वडाको अध्यक्षका लागि ५५ जना प्रतिष्पर्धामा छन् । आज राति नै मतगणना सुरु हुने छ ।