विराटनगर । कोशी प्रदेशको दुई दलीय संयन्त्रले कोशी प्रदेशमा पहिचान पक्षधरसँग वार्ता गरेर समस्या समाधान गर्न प्रदेश सरकारलाई सुझाव दिएको छ । एमाले र काँग्रेसबिच कोशी प्रदेशमा सरकार सञ्चालनमा सहयोग गर्न बनेको संयन्त्रको आज बसेको बैठकले यस्तो सुझाव दिएको हो । कोशी प्रदेशको नामाकारणको विषयमा विमति राख्दै भइरहेको आन्दोलन भइरहेको छ ।
यस्तै ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा केवल कार निर्माण सुरु भएपछि यसको विरोधमा पनि आन्दोलन सुरु भएको छ । दुवै आन्दोलनको नेतृत्व पहिचान पक्षधरहरूले गर्दै आएकाले वार्ताका लागि समिति बनाउन सुझाव दिएको संयन्त्रका नेता तथा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राईले बताउनुभयो ।
दुई दलीय संयन्त्रको बैठकको निर्णय सुनाउँदै उहाँले वार्ता र संवादबाट मात्रै समस्याको समाधान हुने भएको भन्दै आन्दोलनरत पक्षसँग छिटो भन्दा छिटो वार्ता गर्नु पर्ने उहाँले बताउनुभयो । प्रदेशको नामकरण पछि उत्पन्न भएको विवाद पछि प्रदेश नम्बर १ पुन नामकरण संयुक्त सङ्घर्ष समितिले आन्दोलन गर्दै आएको छ ।
यस अघि बनेका प्रदेश सरकारसँग भएको वार्तापछि केही मत्थर भएको पहिचानको आन्दोलन पुन सुरु भएकाले वार्ता समिति बनाउन सुझाव दिएको नेपाली काँग्रेस कोशी प्रदेश तथा संयन्त्रका सदस्य उद्धव थापाले बताउनुभयो ।
दुई दलीय संयन्त्रले कोशी प्रदेश सरकारले सुरु गरेका तर काम सम्पन्न नभएका योजनाहरू सम्पन्न गर्नका लागि सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ । कति पय योजनाहरू बजेट अभावमा रोकिएका छन् संयन्त्रका अध्यक्ष समेत रहेको शेरधन राईले बजेट अभाव भएका योजना सम्पन्न गर्न सङ्घीय सरकारसँग पनि बैठकले माग गरेको बताउनुभयो ।
उहाँले कोशी प्रदेश सरकारले सम्पन्न गर्न लागेको विभिन्न कामलाई पुरा गर्न पनि दुई दलीय संयन्त्रले सहयोग गर्ने बताउनुभयो । प्रदेश सरकारले पर्यटन वर्ष २०८२ र लगानी सम्मेलनलाई समेत सफल बनाउन संयन्त्रले सहयोग गर्ने बताउनुभयो ।
संयन्त्रको बैठकले प्रदेश सरकारको नीति कार्यक्रम र बजेटलाई थप प्रभावकारी बनाउन मुख्यमन्त्री र मन्त्रीहरूले नीति कार्यक्रम कार्यन्वयनमा विशेष ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ ।
यस्तै बजेट संशोधनको तयारी शुरु गर्ने र दुई दलको सहमतिबाट विशेष प्राथमिकता प्राप्त र नागरिकको अत्यावश्यक मागहरुको आधारमा बजेट केन्द्रीत गर्ने निर्णय पनि गरेको छ । नियमित सरकारले आन्तरिक रुपमा समीक्षा गर्ने, दुई दलीय संयन्त्र र सरकारबीचको छलफललाई समेत नियमित गर्ने, प्रदेश सरकारका कामहरुको समेत प्रचारप्रसचार गर्ने निर्णय संयन्त्रले गरेको ।
एशियन हाइवे (पूर्वपश्चिम राजमार्ग) निर्माणमा उत्पन्न अवरोध र कच्चा पदार्थ आपुर्ति लगायतमा उत्पन्न समस्या समाधानका बारेमा समेत सम्बन्धित पक्षहरुसंग तत्काल संबाद र छलफल गरि समाधानका लागि सरकार र संयन्त्रले पहल गर्ने पनि निर्णय भएको एमाले नेता राईले बताउनुभयो ।