Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बहिरा माविमा होटल व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने



विराटनगर । विराटनगरस्थित विराट बहिरा माविमा प्राविधिक शिक्षा सञ्चालन गर्ने विषयमा सरोकारवालाबीच छलफल भएको छ ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा मंगलबार भएको छलफलमा बहिरा बालबालिकालाई दक्ष र सीपयुक्त बनाउन प्राविधिक शिक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा सरोकारवालाहरुले जोड दिए ।
विद्यालयमा आगामी शैक्षिक सत्रदेखि होटल व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न सबै क्षेत्रबाट सहयोग हुनु आवश्यक रहेको उनीहरुको भनाइ थियो । महानगरका मेयर कोइरालाले विगतमा इन्जिनियरिङ पठनपाठन गर्ने योजना कार्यान्वयन नभएको उल्लेख गर्नुभयो । उहाँले होटल व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने योजनालाई कार्यान्वयन गर्न महानगरपालिका तयार रहेको प्रस्ट पार्नुभयो । मेयर कोइरालाले विगतमा इन्जिनियरिङ पठनपाठन गराउने योजनाजस्तै होटल व्यवस्थापन पनि योजनामै सीमित नहोस् भन्ने सचेत गराउनुभयो ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष मीना जोशीको अध्यक्षतामा भएको कार्यक्रममा विएसएन विद्यालयका संस्थापक मनोज राजवंशीले होटल व्यवस्थापन कार्यक्रमका अवसर र चुनौतीका विषयमा प्रकाश पार्नुभएको थियो ।

छलफलमा सामाजिक विकास मन्त्रालयका उपसचिव फडिन्द्र खत्री, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेल,  जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंकप्रसाद गौतम, राष्ट्रिय बहिरा महासंघका महासचिव सीताराम ओझा, महासंघका कोशी अध्यक्ष नविन ढुंगेल, आयोजक विद्यालयकी प्रधानाध्यापक मीनु अधिकारीलगायतले बहिरा माविमा होटल व्यवस्थापन कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार