इनरुवा । सुनसरीको झुम्का कारागारबाट १२ वर्षअघि सुरुङ खनेर फरार भएका कर्तव्य ज्यान मुद्दाका दोषीलाई प्रहरीले पक्राउ गरेको छ ।
इनरुवा नगरपालिका १० वलाहाका चन्द्रशेखर भनिने विनायककुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो । यादव जेलबाट दुई पटक भागेका थिए ।
आज बिहान पत्रकार सम्मेलन गर्दे उनलाई सार्वजनिक गरेको हो । अदालतको फैसलापछि थुनामा रहेका उनी सहित १२ जना कैदी २०६९ साल कात्तिक २३ गते राति झुम्का कारागारबाट सुरुङ खनेर फरार भएका थिए । उनलाई पक्राउ गर्न प्रहरीले एक राउन्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले बताउनुभयो ।
२०६५ साल वैशाख १६ गते सुनसरी साबिक प्रकाशपुर ६ का ३९ वर्षीय केशव कार्कीको विनायक र श्याम भन्ने श्यामकुमार यादवले गोली हानी हत्या गरेका थिए । सो घटनामा संलग्न भएका विनायक एक थान पेस्तोल र ११ राउन्ड गोली सहित पक्राउ परेका थिए । जिल्ला अदालत सुनसरीले उनलाई २० वर्ष ८ महिना १४ दिन कैदको फैसला सुनाएको थियो । झुम्का कारागारबाट फरार भएका यादवलार्ई प्रहरीले सप्तरीको गोबरगाड़ाबाट पक्राउ गरी सिन्धुपाल्चोक कारागारमा कैद भुक्तानीको लागी पठाएको थियो । त्याहाबाट पनि उनी २०७२ वैशाख १२ गते भूकम्प आएका बेला भागेका थिए ।
तत्कालीन भूमिगत सङ्गठन मधेसी मुक्ति टाइगरमा समेत आबद्ध रहेका उनी सिन्धुपाल्चोकबाट भागेपछि भारतको विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका थिए । बेलाबेला नेपाल आउने यादवलाई बिहीबार साँझ छठ पूजा मनाउँदै गरेको अवस्थामा सुनसरीको कोसी गाउँपालिका ८ स्थित पथरचट्टान भन्ने ठाउँबाट पक्राउ गरेको तिमल्सिनाले बताउनुभयो ।
यादव पक्राउ गर्न गएको प्रहरी टोलीलाई देखेपछि भाग्न खोजेपछि घुँडामुनि एक राउन्ड फायर गर्दा उनी आत्तिएर लडेका थिए । उनलाई गोली भने नलागेको प्रहरीको भनाई छ । यादवलाई बाँकी सजाय भुक्तानका लागि आज नै कारागार चलान गरिएको छ ।