Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अनियन्त्रित कार पोखरीमा डुब्यो, दुई जना बेपत्ता



सर्लाही । सर्लाहीको ईश्वरपुरमा पोखरीमा एउटा कार डुब्दा दुई जना बेपत्ता भएका छन् । सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार आज बिहान सर्लाहीकै ईश्वरपुर २ मियाँखोरमा रहेको पोखरी डुबेको हो ।

डुबेको कारमा गौशाला नगरपालिका १० का अन्दाजी ३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका ८ का ३७ वर्षीय रामाकान्त ठाकुर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार कारमा सवार अर्का व्यक्ति महोत्तरीको गौशाला २ का अन्दाजी ३१ वर्षीय जनक यादव भने पौडिएर बाहिर निस्किएका छन् ।

घटनालगत्तै खोजी तथा उद्धारका लागि पुगेको प्रहरी टोलीले बेपत्ता भएका दुई जनालाई फेला पार्न नसकेपछि बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली बोलाएको प्रवक्ता प्रनाउ श्रेष्ठले जानकारी दिए ।

कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा गएर डुबेको स्थानीयको भनाइ छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार