Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रविलाई अरुलाई जस्तै कानूनी कारवाही हुने प्रधामन्त्रीको भनाइ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी बचत रकम अपचलन मुद्दामा पक्राउ परेका रवि लामिछानेमाथि कानुन बमोजिम कारबाही हुने बताउनुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा प्रधानमन्त्री ओलीले समान प्रकृतिको अपराधमा फरक निर्णय नहुने बताउनुभयो ।

लामिछानेको जस्तै प्रकृतिको अपराधमा अरुलाई जस्तो कारबाही भइरहेको छ, त्यस्तै हुने प्रधानमन्त्री ओलीले बताउनुभएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार रास्वपाका सभापति रवि लामिछानेको नाम नलिइकन सरकारले लिने निर्णयबारे प्रधानमन्त्री ओलीले ब्रिफिङ गर्नुभएको थियो । प्रधानमन्त्रीको निर्णयमा सत्ता साझेदार अरु कुनै नेताका पनि फरक मत नभएको र सत्ता साझेदार दलहरुको संयुक्त बैठकमा यो विषय समावेश गरिएको उनले बताए ।

बैठकपछि जारी सात बुँदेको चौथो नम्बरमा रवि लामिछानेको विषय समावेश छ । बक्तव्य मार्फत् सत्तारुढ दलहरुले रवि लामिछानेको पक्षमा भइरहेको सडक प्रदर्शनप्रति असहमति जनाएका छन् ।

सँगै सत्तारुढले संसदीय छानबीन समितिका सबै सुझाव र निर्देशन कार्यान्वयन गर्ने विश्वास पनि दिलाएको छ । ‘सहकारी सम्बन्धी संसदीय छानबिन समितिका सबै सुझाव र निर्देशन सरकारले कार्यान्वयन गर्नेछ’, बक्तव्यमा भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार