विराटनगर । सुनसरीमा एक बालिकाको चिनियाँ नागरिकसँग विवाह गराउँदै गर्दा प्रहरीले तीन जना चिनियाँ नागरिकसहित ८ जनालाई पक्राउ गरेको छ ।
धनकुटा छथर जोरपाटी २ की १६ वर्षकी बालिकाको चीनको हुबेलका ३३ वर्षीय लि टेङसँग विवाहको कार्यक्रम भइरहेको बेला प्रहरीले बेहुलासहित ८ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले किशोरीका बाबु, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुरको बेलका ९ का ४३ वर्षीय दीपक दर्जी र ४२ वर्षीय बद्रीबिक्रम राई, स्याङ्जा पुतलीबजार १२ का २० वर्षीय शितल गुरुङ, काभ्रेपलान्चोकको रोशी ३ की २० वर्षीया रोशनीमाया तामाङसँगै चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरेको हो ।
१६ वर्षीया बालिकाको जवरजस्ती विबाह गराउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले बेहुलीको उद्धार गरी उनीहरुलाई पक्राउ गरेको हो । नेपालको कानुन अनुसार २० वर्ष भन्दा कम उमेरमा विवाह गर्न र गराउन बन्देज छ । यसरी जबर्जस्ती विवाह गराएमा विवाह बदर हुनेछ र यसमा कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था पनि मुलुकी देवानी संहिता २०७४ मा छ ।
सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार किशोरीलाई प्रलोभनमा पारी जबर्जस्ती विवाह गर्दै गर्दा प्रहरीले उद्दार गरेको हो । विपन्न परिवारका किशोरीका बुबाले भने छोरीका लागि राम्रै होस् भनेर विवाह गरेको बताएका छन् । छिमेकी किशोरीको पनि चिनियाँ नागरिकसँग विबाह भएको र उनकै कारण ती बालिकाको पनि विबाह हुन लागेको प्रहरीले जनाएको छ । किशोरीको जबरजस्ती विवाहको तयारी गरेपछि उनकै आफन्तले प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि प्रहरी विवाह मण्डपमा पुगेको थियो ।