Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

धनराज ‘पूर्व’पत्नी ज्योतिविरुद्ध रेड कर्नर नोटिस जारी गर्न इन्टरपोलमा पत्रचार



काठमाडौं । ललितपुरको मितेरी सहकारीबाट बचतकर्ताको रकम अपचलन गरेको आरोपमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड नोटिस जारी गर्न नेपाल प्रहरीले इन्टरपोललाई पत्राचार गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को आग्रहमा नेसनल कन्ट्रोल ब्युरो (एनसिबी) ले गुरुङ पत्नी ज्योति र सहकारीका ज्योतिबहादुर भण्डारीविरुद्ध इन्टरपोललाई रेड नोटिस जारीका लागि पत्राचार गरेको प्रहरी उच्च स्रोतले जानकारी दियो ।

ललितपुरको मितेरी सहकारीको बचत अपचलनमा सीआईबीले अनुसन्धान गरिरहेको छ । धनराज पत्नी ज्योति गुरुङ उक्त सहकारीको तत्कालीन प्रबन्ध निर्देशक थिइन् ।

मितेरी सहकारीले बचतकर्ताको १२ करोड ५९ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ । सोही सहकारीकी ज्योतिबहादुर भण्डारीविरुद्ध पनि रेड नोटिस माग गरिएको छ । बर्दियाका भण्डारीसँग मिलेमतो गरेर गुरुङले सहकारीको रकम हिनामिना गरेको पाइएको छ ।

ज्योतिसँग धनराजले २०७६ फागुनमा कागजी सम्बन्धबिच्छेद गरेका थिए । तर, सहकारी ठगीबाट उम्किनका लागि धनराजले पत्नीसँग नक्कली डिभोर्स गरेको र व्यवहारिक रूपमा अझै पति–पत्नी नै रहेको चर्चा छ । धनराजले कथित सम्बन्धबिच्छेदपछि पनि पूर्वपत्नीको नाममा ऋण तिरिरहेका थिए ।

धनराजकी पत्नी ज्योति प्रबन्ध निर्देशक भएको समयमा नै आन्तरिक छानबिन गर्दा १२ करोड ९० लाख रुपैयाँ अपचलन भएको खुलेको थियो । त्यसको करिब एक वर्षपछि ज्योति फरार बनेकी थिइन् । २९ फागुन २०७६ मा धनराजले ज्योतिसँग कागजी डिभोर्स गरे पनि २०७७ सालमा थप कर्जा लिँदा उनले हकवालामा ज्योतिलाई श्रीमतीकै हैसियतमा राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार