काठमाडौं । सरकारलाई खबरदारी गर्न भन्दै नेकपा माओवादी केन्द्रले काठमाडौंमा खबरदारी सभा गर्ने भएको छ । प्रदर्शनीमार्गमा कार्तिक १० गते नेकपा माओवादी केन्द्रले खबरदारी सभा गर्ने निर्णय गरेको हो । सरकारका गलत कदमको विरोध र सरकारलाई केही काम गर्न ध्यानाकर्षण गराउन भन्दै खबरदारी सभा गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ ।
अध्यक्ष पुष्पकमल दाहालले आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालयको बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी गराउनुभएको हो । उहाँले खबरदारीसभाको तयारीमा जुट्न सबै कमिटीहरुलाई निर्देशन समेत दिनुभएको छ ।
माओवादी केन्द्रले प्राकृतिक विपद्मा सरकार असंवेदशील बनेको भन्दै समस्या समाधान गर्न र आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निष्तेज पार्न खबरदारीसभा गर्ने जनाएको छ ।