विराटनगर । विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिना आरोपमा सहकारीका सञ्चालकसहित ऋणीहरुविरुद्धसमेत मुद्दा दायर भएको छ ।
मोरङ प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको वर्तमान अध्यक्ष अमलेश कर्णसहित उपाध्यक्ष सनातम मण्डल, सचिव उत्तम ढुंगेल, कोषध्यक्ष सोमी भगत, सञ्चालक प्रभाकर थापा तथा ऋणीसहित १०९ जनालाई प्रतिवादी बनाएर ‘सहकारीको रकम हिनामिना गरेको’ मुद्दा दायर गरेको हो ।
प्रतिवादी बनाइएकामध्ये २१ जना सहकारीका वर्तमान र पूर्वसञ्चालकछन भने अन्य ऋणी रहेका छन् । माछापुच्छे्र सहकारीका २०६८ सालयताका सबै पदाधिकारी तथा सदस्यलाई प्रतिवादी बनाइएको भएपनि अध्यक्ष अमलेश कर्णमात्रै पक्राउ परेका छन् । अन्य भने फरार छन् ।
अध्यक्ष कर्ण तत्कालीन विवेकशील साझा पार्टीबाट विराटनगरको मेयरमा उम्मेद्वार बनेका थिए । उपाध्यक्ष मण्डल ग्रिनक्रस अस्पताल सञ्चालक हुन्, सचिव ढुंगेल उपभोक्ता अधिकारकर्मी हुन् । सञ्चालक थापा नेपाल तरुण दल मोरङका पूर्वसभापति हुन् ।
प्रदेश सरकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले छानबिन गर्दा सहकारीको ९ करोड २५ लाख रुपैयाँ हिनामिना भएको देखिएको थियो । प्रहरी अनुसन्धानका क्रममा भने ७ करोड ८४ लाख २६ हजार ३३५ रुपैयाँ हिनामिना भएको देखिएको छ ।
प्रहरीमा १०३ जना बचतकर्ताले २ करोड ४२ लाख ६ हजार ७ सय ५१ रुपैयाँ बचत फिर्ताको मागसहित निवेदन दिएका छन् ।
अदालतमा दायर भएको अभियोग पत्रमा सहकारी संस्थाले १८३ जनालाई ६ करोड ३४ लाख ७६ हजार २२६ रुपैयाँ ऋण लगानी गरेको देखाइएको छ । अधिकांश ऋण बिना धितोका छन् । केही ऋण लगानी फारममा ऋणीको हस्ताक्षर समेत छैन ।
दुई वर्षअघि संकटमा परेको सहकारीको ऋण कसैले तिरेका छैनन् । सहकारीका ऋण नतिरेका कारण ऋणीलाई प्रतिवादी बनाइएको सरकारी वकिलको कार्यालय मोरङले जनाएको छ । सञ्चालकले नै सर्वसाधारणको बचत अपचलन गरेका कारण सहकारी संटकमा परेको प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो ।
पक्राउ परेका संस्थाका अध्यक्ष कर्णले पनि संस्थाका पदाधिकारी तथा सदस्य प्रभाकर थापा, अमित कार्की, उत्तम ढुंगेल, श्याम कोइराला, सरु भण्डारी, गोपाल ढकाल, दिलिप कुमार साह, राधादेवी लिम्बु, गोकुल थापा (पूर्वउपाध्यक्ष), ईन्द्रेश कर्ण ( पूर्वसञ्चालक) नियम विपरित ऋण लिएको बयान दिएका छन् ।
व्यवस्थापक समेत रहेका अमित कार्कीले संस्थाको रकम आफ्नो व्यक्तीगत खातामा बचत गरेर अपचलन गरेका छन् ।