Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

देशभर फैलियो डेंगु, १९ हजार बढीमा संक्रमण



काठमाडौं । डेङ्गुको संक्रमण देशभर फैलिएको छ । देशको एक जिल्ला छोडेर ७६ जिल्लामा नै फैलिएको हो । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्या १९ हजार कटेको छ ।

काठमाडौंमा ३ हजार १ सय ३, कास्कीमा २ हजार ८ सय ४७, तनहुँमा २ हजार १ सय ७, पर्वतमा १ हजार ५ सय ६२, चितवनमा ९ सय ७१, ललितपुरमा ९ सय २७, गोरखामा ५ सय ८८, बाग्लुङमा ६ सय १०, भक्तपुरमा ३ सय ५५ तथा स्याङ्जामा ३ सय ३५ जनामा डेंगु संक्रमण भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक तथा सङ्क्रामक रोग विशेषज्ञ डा.शेरबहादुर पुनले मनसुन सकिएपछिको अहिलेको अवस्थामा डेङ्गीको जोखिम अझ बढी रहेको जानकारी दिनुभयो । दशैँलगत्तै अस्पताल पुग्ने डेङ्गीको बिरामी बढिरहेका छ ।

डेङ्गी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । लामखुट्टेको टोकाइबाट बच्नको लागि पूरा शरीर ढाक्ने कपडा लगाउन, घर वरपर पानी जमेका खाल्डाखुल्डी पुर्न, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्न, खाली भाँडाकुँडा घोप्ट्याएर राख्न, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहन तथा सुत्ने बेला झुलको प्रयोग गर्न डाक्टरहरुले सुझाव दिँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार