विराटनगर । विराटनगरका एक गीत गजल सञ्चालकमाथि खुकुरी प्रहार भएको छ । विराटनगरको भूमिप्रशासन चौकमा रहेको मुन गीत गजलका सञ्चालक दिलिपकुमार भगतमाथि खुकुरी प्रहार भएको छ ।
खुकुरी प्रहारबाट भगतको देब्रे हात र नाकको डाँडीमा पनि चोट लागेको भएपनि अवस्था भने सामान्य रहेको छ । भगतलाई उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको मोरङ प्रहरीका निमित्त प्रवक्ता एवं इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए ।
गीत गजलमा भएको विवादलाई लिएर उनीमाथि खुकुरी प्रहार भएको प्रहरीले बताएको छ । मंगलबार साँझ करिब ६ बजे विराटनगर– ९ का सावन दास र विनोद रायले खुकुरी प्रहार गरेको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरु फरार छन् ।
फरार भएका दुवैको खोजी भइरहेको जानकारी ओलीले दिए ।