Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नवरात्रको अन्तिम दिन, आज महाअष्टमी र नवमी मनाइँदै



काठमाडौं । बडादशैंको महाअष्टमी र नवमी आज एकैदिन परेको छ । महाअष्टमीको दिन महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ ।

अष्टमी र नवमी एकै दिन परेकाले आज आज अष्टमीको पूजा गरेर केहीबेर विश्राम लिई नवमीको पूजा गरिने छ ।

यसैगरी नवमीको दिन नवदूर्गाहरुको पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ ।

नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा गर्नेहरुको घुइँचो छ । मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।

दशैंघर र कोत लगायतका विभिन्न देवी मन्दिर र शक्तिपीठमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि सहित दुर्गा भवानीको विशेष पूजा गरिन्छ ।

पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिन कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि छ ।

महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार