विराटनगर । काठमाडौंबाट भोजपुर आउँदै गरेको एउटा यात्रु बस सिन्धुलीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत हरिहरपुर गाउँपालिका ५ द्वारखोलाको पुलनजिकै बस दुर्घटनामा परेको हो ।
बागमती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको हो ।
हरिहरपुर गाउँपालिका ५ का वडाध्यक्ष कमलकुमार राईले दुर्घटनामा दुईजना यात्रुको मृत्यु भएको जानकारी दिनुभयो । बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले पुष्टि गर्नुभयो ।
बसमा ४७ जना यात्रु सवार थिए । घाइतेहरूलाई कपिलकोट र सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।