Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले विराटनगरले रक्तदाता सञ्जाल बनाउने



विराटनगर । नेकपा एमाले विराटनगर महानगर संगठन कमिटीले विराटनगरमा देखिएको रगतको अभाव न्यूनिकरण गर्न रक्तदाता सञ्जाल बनाउने भएको छ ।

आज विराटनगरमा बसेको कमिटीको प्रथम पूर्ण बैठकले रक्तदाता सञ्जाल बनाउने निर्णय गरेको हो । बैठकले दशैँ, तिहार, छठलगायतका चाडपर्वहरुको अवसरमा असोज १९ गते शुभकामना आदानप्रदान गर्ने निर्णय समेत गरेको सचिव बलराम गिरीले बताउनुभयो । आज आयोजित पूर्ण बैठकले केही महत्वपूर्ण निर्णय गरेको भन्दै उहाँले पार्टी कमिटी चुस्त र चलायमान हुने गरी अघि बढेको प्रतिकृया दिनुभयो ।

प्रथम पू्र्ण बैठकलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इञ्चार्ज जीवन घिमिरेले विराटनगर महानगरपालिकामा मेयर सहितको अधिकांश वडा तथा महानगर क्षेत्रमा पर्ने संघीय तथा प्रादेशिक निर्वाचन क्षेत्र जित्ने योजना साथ अघि बढ्ने गरि महानगर कमिटी लाग्नु पर्ने बताउनु भएको थियो ।

प्रथम पूर्ण बैठकमा नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य तथा विराटनगर महानगर इञ्चार्ज पर्शुराम बस्नेतले विराटनगर कमिटीमा देखिएको समस्यालाई पार्टी जिल्ला कमिटीले निकास दिएकोले महानगर कमिटीले गतिशीलता साथ कार्य अघि बढाउन निर्देशन दिनु भएको थियो ।

एमाले मोरङ जिल्ला संगठन कमिटी अध्यक्ष बाबुराम कार्कीले पार्टीको पालिका कमिटीहरू माथिल्लो कमिटी प्रति जबाफदेही हुनु पर्ने बताउनु भएको थियो । महानगर कमिटीका अध्यक्ष रोहित कोइरालाले पार्टीलाई चलायमान बनाउन सबै पक्षको सहयोग आवश्यक पर्ने बताउँदै आफू सबैको सल्लाह सुझावमा अघि बढ्ने बताउनु भएको थियो ।

बैठकमा मोरङ इञ्चार्ज घिमिरेले पार्टी विचार र प्रणालीको बिषयमा र महानगर इञ्चार्ज बस्नेतले संगठन निर्माण, परिचालन र व्यवस्थापन बिषयक प्रशिक्षण दिनु भएको महानगर सचिव गिरीले जानकारी दिनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार