Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बाढीको क्षति र राहतको विषयमा अनुगमन गरेर फर्किदै गर्दा राज्यमन्त्री राईको गाडीमा ढुंगा प्रहार



विराटनगर । उदयपुर र भोजपुरको सीमा क्षेत्रमा बाढीले पुर्याएको क्षतिबारे बुझ्न जानु भएकी कोशी प्रदेश मुख्यमन्त्री कार्यालयकी राज्यमन्त्री सृजना राई सवार गाडीमा मंगलबार राति आक्रमण भएको छ ।  बाढी पहिरो पछिको अवस्था र राहत तथा उद्धारको विषयमा अनुगमनमा पुगेको राज्यमन्त्री राईको टोलीलाई उदयपुरमा अज्ञात समूहले ढुंगा प्रहार गरेको छ ।

भोजपुरको निर्माणाधीन मोटेरेवल चुहार पुल, एखुवा खोला पुल, अविरल वर्षातको कारण क्षतिग्रस्त चुहारको झोलुङ्गे पुल, जोगेपाथर घारे झोलुङ्गे पुल,  बाक्सीखोप झोलुङ्गेपुलको अवलोकन गरेर फर्किने क्रममा मन्त्री राई सवार गाडीमा ढुंगा प्रहार भएको हो । प्रदेश १ – ०४- ००१ झ ००३२ नम्बरको गाडीमा उदयपुरको बेलका नगरपालिका वडा नं. ८ सिरवानी माथीको लिफ्टिङ् खानेपानी ट्याङ्की मुनि बिग्रेको टर्नीङमा बेलुकी १० बजे अज्ञात समूहले ढुंगा हानेको राईले बताउनुभयो । आक्रमणका लागि हतियारसहित आएका समूहको हाउभाउ र हातहतियार हेर्दा गाडी रोकिएको भए ज्यान नै तलमाथि हुन सक्ने उहाँको अनुमान छ ।

अनुगमन टोलीमा मन्त्री राई सहित स्वकीय सचिव, नेकपा एमाले आमचोक गाउँपालिका उपाध्यक्ष बसन्त राईलगायतका ७ जना थिए । राज्यमन्त्री राईले बाटो छेकेर ज्यान मार्ने उदेश्यले नै करिब १५ जना जतिको समूहले आक्रमण गर्न खोजेको बताउनुभयो ।

‘खुकुरी, भाटा र ढुंगा बोकेर आएका उनीहरुले गाडी छेक्न सडकमा मुढासमेत तेस्र्याएका थिए । तर गाडी नरोकी अगाडि बढेपछि ढुंगामात्र हान्न भ्याए’  मन्त्री राईले भन्नुभयो – ‘यो विषयमा प्रहरीलाई हिजो नै जानकारी गराएको छु’ । हिजो नै त्यस अघि बेलकाको बिमिम्लामा समेत ६ / ७ जनाको समूहले बाटो छेकेको उहाँले जानकारी दिनुभयो ।

अनुगमनका लागि सँगै जानु भएका कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई भने आक्रमण हुनुभन्दा केही समय अघि मात्रै टोलीबाट छुट्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार