Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

संविधान दिवसमा एभरेष्टमा विज्ञान प्रदर्शनी



विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले संविधान दिवस विज्ञान प्रदर्शनी गराएर मनाएको छ ।

संविधान दिवस महत्वपूर्ण दिन भएकोले यस दिनमा विद्यार्थीहरूमा थप सृजनशील हुन अभिप्रेरित गर्न र राष्ट्रका लागि केहि गर्न उर्जा मिलोस् भन्ने उद्देश्यका साथ विज्ञान प्रदर्शनी गरिएको विद्यालयले जनाएको छ ।

शैक्षिक पाठ्यक्रममा सिकाइने हरेक विषयलाई प्रयोगात्मक विधिबाट अध्यापन गराउँदै आएको एभरेष्टले विभिन्न अन्वेषणका लागि कारखाना समेतको सहकार्यमा नियमित यस्ता प्रयोगात्मक कक्षा सञ्चालन गर्दै आएको छ । तिनै सिकेका आफ्ना अनुभवबाट तयार पारेका विभिन्न परियोजनाहरूलाई आ–आफ्ना अभिभावकहरुलाई विद्यार्थीहरुले प्रदर्शनी गरेका हुन् ।

विभिन्न १८ वटा कक्षामा राखिएका १०१ परियोजनाको अवलोकन गर्दै अभिभावकहरु खुसी देखिन्थे । कक्षा ६– ८ सम्मका विद्यार्थीले रोबोट बोट, हाइड्रोलिक जेसिबी, चुम्बकीय रेल, न्यूटनको चाल सम्बन्धि तेस्रो नियमको व्यवहारिक परिदृश्य, स्मार्ट सिटिका लागि आवश्यक पूर्वाधारहरु, सूर्य ग्रहण र चन्द्रग्रहण लाग्ने कारण, अणु बम, गुरुत्वाकर्षण लगायतका विषयमा तयार पारेका विभिन्न परियोजनाले अभिभावकलाई सन्तुष्ट बनाएको थियो ।

विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले नेपालको संविधान दिवस हाम्रा लागि महत्वपूर्ण दिन भएको चर्चा गर्दै तर यस्ता दिनमा स–साना बालबालिकालाई र्‍यालीमा सहभागी गराउने भन्दा पनि रचनात्मक काममा लगाउने, संविधानको मर्म अनुसार मुलुकलाई समृद्धिको दिशामा कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा सिकाउनु लाभदायक हुने बताए ।

नयाँ ढंगले संविधान दिवस मनाएको पुरीको भनाइ छ ।  विद्यालयमा अब दिवसहरु रचनात्मक ढंगले मनाउनु पर्ने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार