विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम नेपाली काँग्रेसले टुंग्याएको छ । आजै काँग्रेस सरकारमा सहभागी हुँदै छ ।
बिहान ९ बजे सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ । काङ्ग्रेसबाट कोशी प्रदेशका महामन्त्री समेत रहेका प्रदेश सांसद भुपेन्द्र राईको नेतृत्वमा सरकारमा सहभागी हुने निश्चित भएको हो । सिटौला समुहका राई भौतिक पूर्वाधार मन्त्री बन्नु हुने छ ।
काङ्ग्रेसबाट मन्त्री बन्ने अन्य सांसदहरुमा ताप्लेजुङका खगेनसिह हाङ्गाम उद्योग, कृषि तथा सहकारी र सुनसरीका सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री बन्ने निश्चित भइसकेको जनाइएको छ । हाङ्गाम र मण्डल दुवै सभापति देउवा निकट हुन् । यस्तै सिटौला समूहका भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बन्ने निश्चित भएको छ ।
यता कोइराला समूहले भने मन्त्रीको नाम नै नबुझाएपछि कोइराला समूहबाट भने कोही परेनन् । नेता शेखर कोइरालाले कोशी प्रदेशमा दुई मन्त्री मागेको र सभापति शेरबहादुर देउवाले एक जनामात्रै मन्त्री दिने अडान लिएपछि कोइराला समूहले मन्त्रीको नाम नै नपठाएको हो ।
२०८१ बैशाख २७ गते संविधानको धारा १६८ को (५) अनुसार मुख्यमन्त्री नियुक्त हुनु भएका कार्कीलाई त्यसबेला नेकपा माओवादी केन्द्रले समर्थन गरेको थियो ।
गएको असार १७ गते केन्द्रमा सत्ता समिकरण परिवर्तन भएपछि साउन ११ गते माओवादी केन्द्र सरकारबाट बाहिरिएको थियो । काँग्रेस सत्ता साझेदार भएपछि माओवादी केन्द्रले सत्ता छोडेको लामो समय मन्त्रिपरिषद अपूर्ण रह्यो ।
काँग्रेसको आन्तरिक किचलोले मन्त्रीहरुको नाम नपठाउन मन्त्रिपरिषद बिस्तार हुन सकेको थिएन् । मुख्यमन्त्री कार्कीले पटक पटक काँग्रेसले नाम पठाउनेबित्तिकै सरकार बिस्तार हुने बताउदै आउनुभएको थियो ।