Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी कृषि एक्स्पो शुरु, कृषि क्षेत्रको उन्नयनमा कोशेढुंगा सावित हुने मुख्यमन्त्री कार्कीको भनाई



विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा मोरङको कटहरीमा चार दिने कृषि एक्स्पो शुरु भएको छ ।
विराटनगर नजिकैको कृषि थोक बजार परिसरमा आजदेखि सुरु भएको कृषि एक्स्पोको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संघीय सरकारका कृषि तथा पशुपन्क्षी विकास मन्त्री मन्त्री रामनाथ अधिकारीले एक्स्पोको उद्घाटन गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले किसान र निजी क्षेत्रलाई एक ठाउँमा ल्याई कृषि उत्पादन बढाउनका साथै यान्त्रीकरण गर्न एक्स्पो कोषेढुंगा सावित हुने बताउनुभयो । उहाँले भन्नुभयो “लगानीको सुनिश्चिता र कृषि आधुनिकीकरणका लागि यस्ता अवसर सहयोगी हुन्छन् । प्रदेश सरकारले कोशी प्रदेशलाई कृषि हबको रुपमा विकास गर्नसमेत कार्ययोजना अघि बढाएको छ ।” कार्कीले कोशी प्रदेशमा भौगोलिक अवस्थितिअनुसार कृषि क्षेत्रको विकासका लागि सरकारले काम गरिरहेको बताउनुभयो । किसानका लागि बैंक ब्याजमा अनुदान, यान्त्रीकरणमा सहयोग र कृषि उद्योग संचालनमा सहयोग गरिरहेको र यसलाई निरन्तरता दिइएको समेत जानकारी दिनुभयो ।

संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषिको व्यावसासायीकरणका लागि रणनीतिक महत्वका साथ अघि बढ्नु पर्ने बताउनुभयो । उहाँले कृषि क्षेत्रको प्रर्वद्धनका लागि सरकार निजीक्षेत्रसँग मिलेर काम गर्न तयार रहेको बताउनुभयो । सातवटै प्रदेश र सबै स्थानीय तहमा लगानी क्षेत्र पहिचान गरी बजेट पठाउने काम भएको उहाँले प्रस्ट्याउनु भयो ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले निर्वाहमुखी कृषिलाई आधुनिकीकरण गर्दै किसान र उद्यमीलाई एउटै मन्चमा ल्याउने उद्देश्यसाथ एक्सपो आयोजना गरिएको बताउनुभयो । किसान, उद्यमी, लगानीकर्तासहितको उपस्थिति रहेको एक्स्पो देशमै उदाहरणीय भएको उहाँको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले कृषिमा निजी क्षेत्रको प्रवेश र लगानी सुनिश्चिताको काम हुन सके नेपालले चाँडै यस क्षेत्रमा फड्को मार्ने बताउनुभयो । कार्यक्रममा कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, सहज परियोजनाकी टिम लिडर रिमा श्रेष्ठलगायतले सार्वजनिक र निजी क्षेत्रबीचको समन्वयमा सरकारको बलियो सहभागितामा कृषिक्षेत्रले उन्नति गर्न सक्ने धारणा राख्नुभयो ।
आइतबारसम्म चल्ने कृषि एक्स्पोमा नेपाल र भारतका गरी १ सय ३० वटा स्टल रहेका छन् ।

जुम्लाको मार्सी चामलदेखि विभिन्न प्रकारको दाल र स्याउ, झापाको गाउँले अचार र नमुना अचार, पाँचथरको काँकरा र किबीको जुस लगायतका कृषि सामग्री बिक्री भइरहेका छन् । नेपाल र भारतका १५ जना कृषि विज्ञहरू कृषि एक्स्पोमा सहभागिता जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार