Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उपसभामुख मगरलाई हटाउने सत्तापक्षको तयारी



काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले ‘पदअनुकूल आचरण नगरेको’ भन्दै सत्तारूढ दलहरूले हटाउने तयारी थालेका छन् । उपसभामुख मगरलाई हटाउन सत्तापक्षका दलहरुले सांसदहरूले हस्ताक्षर सङ्कलन गरिसकेका छन् ।

उपसभामुखविरुद्ध हस्ताक्षर सङ्कलन भएको सूचना पाउनेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मंगलबार बेलुकी प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उहाँले छलफल गर्नुभएको हो । लामिछानेले सत्तारुढ दलका सांसदबाट उपसभामुखलाई राजीनामा दिन दबाब दिएकोबारे प्रधानमन्त्रीको धारणा माग्नु भएको थियो ।

प्रधानमन्त्री ओलीले भने संसद्मा उठेको विषय त्यही निराकरण हुने जवाफ दिनुभएको छ । उपसभामुखले सकभर राजीनामा दिएर मार्गप्रशस्त गराउने सत्तारुढ दलहरूको प्रयास रहेको बुझिएको छ । तर उपसभामुख भने राजीनामा दिने मनस्थितिमा हुनुहुन्न ।

उपसभामुखले मार्गप्रशस्त नगरेमा उहाँविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सत्तापक्षको तयारी छ । यसबारे थप रणनीति बनाउन कांग्रेसले आज पदाधिकारी बैठक बोलाएको छ ।

उपसभामुखले पद अनुकूलको आचरण नगरेमा एक चौथाइ सदस्यले संसद प्रस्ताव दर्ता गर्न सक्ने र पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट पारित भएमा पदमुक्त हुने संवैधानिक व्यवस्था छ ।

यसअघि उपसभामुख रानाले आफ्नो लेटरहेड प्रयोग गरेर भिसाका लागि अन्तर्वार्ताको मिति मिलाइदिन अमेरिकी दूतावासलाई लेखेको पत्र बाहिरिएको थियो । पत्र गएको साउन पहिलो हप्ता सार्वजनिक भएलगत्तै त्यसैबेला पनि संसदमा यो विषय उठेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार