विराटनगर । कोशी प्रदेशका पूर्व मूख्यमन्त्री केदार काकीले भोलिदेखि आमरण अनसन सुरु गर्ने हुनु भएको छ । आफूले सुरु गरेको योजना वर्तमान मुख्यमन्त्रीले काटेको आरोप लगाउँदै उहाँ आमरण अनसनमा बस्न लाग्नु भएको हो ।
आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै नेता कार्कीले आफूले बालबालिकाहरुको निशुल्क स्वास्थ्य उपचार सेवा सुरु गरेको र वर्तमान सरकारले काटेको आरोप लगाउनुभयो । उहाँले शैलजा आचार्य हृदय रोग केन्द्रको बजेट समेत काटेको उहाँको भनाइ छ । यस्तै केशलिया करिडोरमा बजेट हाल्नु पर्ने उहाँको माग रहेको छ ।
यी माग पुरा गराउन भन्दै उहाँले भोलिदेखि प्रदेश सभा भवन देवकोटा चोकमा अनसन सुरु गर्ने बताउनुभयो । यता कोशी प्रदेशका अर्थिक मामिला मन्त्री राम रानामगरले भने कार्कीले उठाइरहेको बालबालिकाहरुको निशुल्क उपचार नरोकिएको र यो पटक अघिल्लो पटक भन्दा बढी बजेट विनियोजन भएको बताउनुहुन्छ । उहाँले शैलजा आचार्य हृदय रोग केन्द्रका लागि समेत बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।